१२ कात्तिक , काठमाडौँ – मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ । उम्मेदवारहरूले चुनाव चिह्न प्राप्त गरी आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन् । पहिलो चरणमा उच्च हिमाली र पहाडी जिल्लामा निर्वाचन हुँदैछ ।
हिमाली क्षेत्रमा बढ्दै गएको मौसमी चिसोलाई निर्वाचनको माहोलले तताएको छ । मङ्सिर १० गते प्रदेश १ का सात जिल्लामा निर्वाचन हुँदैछ । प्रदेश १ का १४ मध्ये सात जिल्लामा निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभामा १४ सिटका लागि उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा दुई सिट रहेको ताप्लेजुङ प्रतिनिधिसभामा एकै क्षेत्र छ । संविधानसभा सदस्य निर्वाचन २०७० मा ताप्लेजुङका दुवै क्षेत्रमा नेकपा (एमाले) विजयी भएको थियो । यसपटक प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एमाले सचिवसमेत रहनुभएका योगेश भट्टराई चुनावी मैदानमा हुनुहुन्छ । भट्टराईका प्रतिस्पर्धी नेपाली काँंग्रेसका केशव दाहाल हुनुहुन्छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मतपरिणाममा एमाले ताप्लेजुङमा काँग्रेसभन्दा एक हजार मतले अघि छ । एमालेले ताप्लेजुङमा २० हजार ५५१ मत पाएको छ । कांँग्रेसले १९ हजार ५७२ मत पाउँदा माओवादी केन्द्रले चार हजार ३६६ मत ताप्लेजुङमा पाएको छ । एमाले उम्मेदवार भट्टराईलाई वाम गठबन्धनको समेत साथ भएका कारण यो क्षेत्रमा वाम उम्मेदवारको उपस्थिति बलियो देखिएको विगतको तथ्याङ्कले देखाएको छ ।
यसैगरी मङ्सिर १० मा नै चुनाव सम्पन्न हुन गइरहेको पाँचथरमा संविधानसभाका दुवै सिट काँग्रेसले जितेको थियो । अहिले पाँचथरमा पनि एउटामात्र निर्वाचन क्षेत्र छ । पाँचथरमा पनि वाम र लोकतान्त्रिक गठबन्धनकै प्रतिस्पर्धा हुनेछ । काँग्रेसका भीष्मराज आङदेम्बे र वाम गठबन्धनबाट वसन्तकुमार नेम्बाङ चुनावी मैदानमा हुनुहुन्छ । आङदेम्बे संविधानसभा सदस्यमा पाँचथर–२ बाट निर्वाचित हुनुभएको थियो । स्थानीय तहको पछिल्लो मतपरिणाममा पनि काँग्रेस करिब एक हजार आठ सय मतले एमालेभन्दा अघि छ । काँग्रेसको वडागत मत पाँचथरमा २७ हजार ७७६ छ । एमालेले २६ हजार ६७ मत पाउँदा माओवादी केन्द्रको १४ हजार ३५१ मत छ । एमाले उम्मेदवार नेम्बाङलाई माओवादीले साथ दिएको छ । स्थानीय तहको मतपरिणामअनुसार वाम गठबन्धन पाँचथरमा पनि अगाडि देखिएको छ ।
यो खबर आजको गोरखापत्रमा छ ।