२९ कात्तिक , युएई – युएईको चारदिने औपचारिक भ्रमणको दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र अबुधावीका राजकुमार तथा युएई आर्म फोर्सका उपमाहानिर्देशक शेख मोहमद विन जायद अल नाहायनबीच भेटवार्ता भएको छ ।
राजकुमार शेख मोहमदले भण्डारीलाई युएईमा स्वागत गर्दै भ्रमणले दुई देशबीच आर्थिक विकास र लगानीका क्षेत्रमा साझा सहमति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दुई देशको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने भन्दै युएईको विकास अनुभवबाट नेपालको विकासमा सहयोग पुग्ने बताए ।
अबुधावीका कार्यकारी अधिकारी खरदोन खलिफा अल मुवारक, अबुधावी क्राउन्स प्रिन्स कोर्टका उपसचिव मोहमद मुवारक अल मजुराई, नेपाल सरकारका आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका विदेशनीति सल्लाहकार डा. मदनकुमार भट्टराई र परराष्ट्र मन्त्रालयका उपसचिव शंकरदास बैरागी पनि भेटवार्तामा सहभागी थिए ।
राष्ट्रपति बिहीबार युएईमा सुरु हुने अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलनमा सहभागी हुनेछिन् । ‘अन्तिम पाइलासम्मको यात्रा, संक्रमित रोगहरूको निराकरणका लागि सहयात्रा’ भन्ने नारासहित सम्मेलन सुरु हुँदै छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।