१२ मंसिर , काठमाडौँ – माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन यति वेला राष्ट्रिय कलाकारहरू काठमाडौंबाट चितवन झरेका छन् ।
लोकगायक बद्री पंगेनी, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, संगीतकार चेतन सापकोटालगायतका कलाकार निर्वाचनमा प्रचण्डको पक्षमा माहोल बनाउन खटिएका हुन् ।
लोकगायक बद्री पंगेनीले आइतबार र सोमबार माडीका विभिन्न सभामा प्रचण्डकै अगाडि गीत गाउँदै प्रचण्डलाई भोट मागेका छन् ।
पंगेनीले ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ,’ बोलको गीत गाउँदा सहभागीहरू ताली बजाउँदै छमछमी नाचेका थिए ।
चर्चित संगीतकार चेतन सापकोटाले पनि ‘आऊ युवा हो, आऊ साथी हो’ बोलको गीत गाएर माडीवासीलाई नचाएका थिए ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ‘गजुरियल संवाद’ प्रस्तुत गर्दा माडीवासी पेट मिचीमिची हाँसेका थिए ।
उनले प्रचण्डका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई आफ्नो हाँस्य प्रस्तुतिबाट तीखो ब्यंग्य गरेका थिए ।
बद्री पंगेनी, चेतन सापकोटा, मनोज गजुरेलसँगै प्रचण्डको चुनाव प्रचारमा केन्द्रीय कलाकारको टोली नै परिचालित भएका छन् ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।