२१ मंसिर , रसुवा – जिल्ला प्राविधिक कार्यालय रसुवाको मुख्य हलमा च्यानल गेट राखिएको छ । अर्कोतर्फ पनि फलामे बार राखिएको छ । झट्ट हेर्दा कुनै जेलजस्तै लाग्छ । तर, पहिलो चरणमा मतदान भएको रसुवाको मतगणना यही स्थानमा बिहीबार साँझ पाँच बजेबाट सुरु हुँदै छ ।
दलका प्रतिनिधिबाट मतपत्र सुरक्षित गर्न अधिकांश जिल्लाका गणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ । गणनास्थललाई तारको जालीले घेर्नेदेखि फलामे बार लगाउनेसम्म गरिएको छ । दलका प्रतिनिधि बार वा जालीबाहिरै बस्नेछन् ।
गणनास्थलमा कर्मचारीलाई मात्र प्रवेश दिने जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् । दलका प्रतिनिधिलाई मतपत्र छुन नदिन गणनास्थललाई यसरी घेरिएको हो । गत स्थानीय निर्वाचनमा चितवनमा दलका प्रतिनिधिले मतपत्र च्यातेपछि यसपटक देशैभर गणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
सिसिटिभीको पनि निगरानी
लमजुङ, मतगणनास्थललाई तारजालीले घेर्नुका साथै सिसिटिभी पनि राखिएको छ । मतगणनास्थलमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।
मतगणनाका क्रममा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना गर्ने ठाउँमा दलका एक एकजना मात्र प्रतिनिधि रहने निर्णय भएको छ । प्रत्यक्षको मतगणना सकिएपछि मात्र समानुपातिकको मतगणना गरिनेछ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।