०८ पौष , ललितपुर – नेकपा (एमाले) ले सरकार निर्माणमा अवरोध नगर्न नेपाली काँग्रेसको ध्यानाकर्षण गराएको छ । एमाले उपाध्यक्ष वाम गौतमको भैँसीपाटीस्थित निवासमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकार निर्माण र राष्ट्रिय सभाको गठन फरक फरक विषय भएको तथा सरकार निर्माणसँग राष्ट्रिय सभा गठनको कुनै साइनो सम्बन्ध नरहेको ठहर गर्दै सरकार निर्माणमा अवरोध नगर्न सत्तारुढ नेपाली काँग्रेसलाई दबाबसमेत दिएको जानकारी एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दिनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको ९२ औँ बैठकले काँग्रेसको अवरोधका कारण सरकार निर्माणमा समस्या आएको ठहर गर्दै लोकतान्त्रिक विधि प्रक्रिया र जनमतको कदर गर्न काँग्रेसलाई आग्रहसमेत गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बसेको सो बैठकले निर्वाचनपश्चात् लामो सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवम् समृद्धिको दिशामा अगाडि बढ्न लागेको निष्कर्ष निकाल्दै निर्वाचनमार्फत प्रकट भएको जनआकाङ्क्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमतासाथ लाग्ने अठोट गरेको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर आजको गोरखापत्रमा छ ।