०८ पौष , काठमाडौँ – ६ वर्षभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको (त्रिदेशीय नेपाल, भारत र चिन) लिंक रोडको चार वर्षमा तीन किलो मिटर मात्रै सडक निर्माण भएको छ । निर्माण सुस्त हुँदा प्रदेश नम्बर १ को मुख्य व्यापारिक मार्गका रूपमा हेरिएको त्रिदेशीय लिंक रोडको निर्माण कार्य तोकिएको समयमा नसकिने प्रस्ट देखिएको हो । ६ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको ४९ किलोमिटर सडकको स्तरोन्नति चार वर्षमा तीन किलोमिटर मात्र हुनुले तोकिएको समयमा निर्माण पूरा नहुने देखिएको हो ।
विराटनगर–धरान ४९ किलोमिटर सडकको स्तरोन्नति ६ वर्षमा पूरा गर्ने लक्ष्यसहित काम थालिएको थियो । तर, निर्माण सुरु गरेको चार वर्ष बितिसक्दा बल्ल विराटनगरको कञ्चनबारीदेखि वरगाछीसम्म तीन किलोटिर मात्र सडकको स्तरोन्नति सकिएको छ ।
लिंक रोडको स्तरोन्नति ०७० सालदेखि सुरु भएको हो । ०७६ मा निर्माण सक्नुपर्ने लक्ष्य छ । तर, स्थानीय तह, विद्युत्, सडक र वन कार्यालयसँग आपसी समन्वयको अभाव, ठेक्कामा ढिलाइ, बजेट निकासमा ढिलाइ र मधेस आन्दोलनजस्ता विभिन्न कारणले सडक निर्माण अत्यन्तै सुस्त देखिएको छ । विभिन्न १३ वटा प्याकेजमा निर्माण सुरु गर्ने भनिए पनि अझै अनेक झमेला कायमै छ । ६ वटा प्याकेजमा अझै ठेक्का लाग्न पनि बाँकी छ । ठेक्का लागेका सात प्याकेजमा पनि निर्माणको गति सुस्त छ ।
दक्षिणमा भारत र उत्तर चीनको सिमाना जोड्ने कोसी राजमार्ग (जोगबनी किमाथांका) सडकलाई त्रिदेशीय व्यपारिक मार्गका रूपमा आर्थिक वर्ष २०७० देखि स्तरोन्नति थालिएको हो । विराटनगरको जोगबनीदेखी धरानसम्मको ४९ किमी सडक अझै ठेक्का लागिसकेको छैन ।
व्यापारिकमार्ग विस्तार आयोजना कार्यालय इटहरीका अनुसार यो सडक निर्माणका लागि १० अर्ब रुपैयाँ बजेट तयार गरिएको छ । तर हालसम्म करिब ४ अर्ब रूपैयाँ बराबरको मात्र काम भएको छ । ४९ किमी सडकमध्ये विराटनगरदेखि इटहरीसम्म ३५ किलोमिटर जति सडक मात्र स्तरोन्नतिका लागि ठेक्का लागेको छ ।
इटहरीको तरहरादेखि धरानसम्म १४ किमि र सुनसरीको दुहबी बजार क्षेत्रको सडक अझै ठेक्का लाग्न सकेको छैन । दुहवीमा घर भत्काउने किचलो छ भने तरहरादेखि धरानसम्म वन क्षेत्र भएकाले ठूलो मात्रामा रूख काट्नुपर्ने अवस्था छ । आयोजनाका डिभिजनल इन्जिनियर विनोदकुमार मौवारले ठेक्का लागि फाइल मन्त्रालयमा पठाइएको जानकारी दिए ।
६ लेन भनिए पनि चार लेनको सडक
एक नम्बर प्रदेशको महत्वपूर्ण त्रिदेशीय व्यपारिक मार्गको रूपमा विराटनगरदेखि धरानसम्म ६ लेनको सडक निर्माण गर्ने बताइएको थियो । तर बजार क्षेत्रमा घर भत्काउने, सडकमा रहेका टेलिफोन र बिजुलीका पोल सार्ने र रूखहरू काट्नुपर्नेलगायत समस्याले छ लेनको सडक चार लेनमा मात्र निर्माण भइरहेको छ । कतिपय ठाउँमा घर भत्काउन नसक्दा चार लेनभन्दा पनि साँधुरो सडक निर्माण हुँदै छ । आयोजना प्रमुख मौवारले चार लेन सडक निर्माण हुने बताए । उनले दुईतर्फी किनारालाई समेत जोडेर ६ लेनको सडक भनिएको स्पष्टीकरण दिए । उनले जतिसुकै समस्या भए पनि चार लेनको सडकचाहिँ निर्माण भएरै छाड्ने भन्दै सडक निर्माणमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।
त्रिदेशीय लिंक रोडको महत्व
भारतको जोगबनीदेखि विराटनगर हुँदै उत्तर चीनको सिमाना किमाथांकासम्मको सडक निर्माण सम्पन्न हुँदा पूर्वको औद्योगिक व्यापारमा वृद्धि हुनेछ । नेपालबाट चीनसँग जोडिने सबैभन्दा छोटो र सहज दूरीको सडक तथा भारतसँग पनि छोटो दूरीमै लिंक जोडिने भएकाले यो सडकको निर्माणले त्रिदेशीय व्यापार बढ्ने आशा गरिएको छ ।
अर्कोतिर किमाथांका नाका सञ्चालनमा आएमा चीनसँगको नेपालको व्यपारमा वृद्धि हुने र भारतसँग मात्रै आयात निर्यातमा भर पर्नुपर्ने बाध्यता पनि अन्त्य हुनेछ । विराटनगरबाट इटहरी, धरान, धनकुटा, वसन्तपुर, शंखुवासभाको चैनपुर र खाँदबारी हँुदै चीनसँग सिमाना जोडिएको किमाथांका नाकामा पुग्न सकिन्छ । किमाथांका नाकाबाट चीनको सिगात्से सहर नजिकैको दूरीमा पर्छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।