समयमा काम नगर्ने ठेकेदार जनप्रतिनिधिको फन्दामा
पूर्णप्रसाद न्यौपाने / नयाँ पत्रिका ओखलढुंगा, २६ चैत | ०३ घन्टा अगाडि
ओखलढुंगामा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार विरुद्ध जनप्रतिनिधिले कारबाही अभियान सुरु गरेका छन् । निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले काम नगर्ने ठेकेदार विरुद्ध कारबाही थालेका हुन् । जनप्रतिनिधि नहुँदा लामो समयदेखि जिल्लामा ठेक्का लागेर पनि विकास आयोजनाका कामहरु सम्पन्न हुन सकेका थिएनन् । निर्वाचित भएपछि जनप्रतिनिधिहरु विकास निर्माणका काममा भएको ढिला सुस्ती रोक्न लागि परेका हुन् ।
सोमबार जनप्रतिनिधिले जिल्लाको मोलुङ खोलाका २ स्थानमा निर्माण सम्पन्न भईसक्नुपर्ने सडक पुलको काम हाल सम्म अघि नबढाउने ठेकेदारलाई जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन लगाएका छन् ।
सांसदका प्रश्नले छुट्यो ठेकेदारका पसिना
सोमबार मोलुङ करिडोर सडकको अनुगमन गर्ने कार्यक्रम थियो । प्रत्यक्ष निर्वाचित सांसदको रोजाईमा बन्ने एउटा सडक आयोजना अन्तरगत २०७० सालमा निर्वाचित भए पश्चात सांसद यज्ञराज सुनुवारको पहलमा सुरु भएको मोलुङ एकवारको काम मुलखर्कको भुल्केसम्म पुगेको छ । सोहि सडक अनुगमन गर्न प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्मासहितका सरोकारवालाहरु मुलखर्कको भुल्के पुगे ।
त्यहाँबाट फर्किएपछि मोलुङ दोभानमा निर्माण हुनुपर्ने सडक पुलको अनुगमन गर्ने कार्य सुचि थियो । मोलुङ दोभान पुग्दा त्यहाँ पुल निर्माणका लागि १ जना ड्राईभर डोजर लगाएर जिप खनिरहेका भेटिए । अर्का एक मजदुर डोजर अघिपछि घुमिरहेका थिए । ०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम भर्खरै सुरु भएको छ ।
सक्नुपर्ने बेला काम सुरु गरेको भन्दै आक्रोशित जनप्रतिनिधिले त्यस नजिकै एक होटलमा ठेकेदार रविन्द्र लामालाई भेट्टाए । ठेकेदार भेटाए लगतै सांसद सुनुवारले आक्रोशित हुँदै कुनै पत्रकारले अन्तरवार्तामा प्रश्न गरे झै ठेक्का लिएको काम समयमा पुरा नहुनुको कारण सोधे । सांसदले एकपछि अर्को प्रश्न गरेपछि ठेकेदार लामा असिन पसिन हुँदै तत्काल काम अघि बढाउन सहमत भए । समयमा काम नगर्ने ठेकेदारलाई जनप्रतिनिधिले जनताका बिचमा उभ्याएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउन बाध्य पारे ।
पौष मसान्त सम्ममा दुवै पुल निर्माण सक्ने ठेकेदारको प्रतिवद्धता
मोलुङ एकवार सडक आयोजना अन्तरगत पर्ने मोलुङ दोभान र मान्द्रे दोभानको पुल निर्माणको काम आगामी पौष मसान्तसम्ममा सम्पन्न गर्ने ठेकेदारले प्रतिबद्धता जनाएका छन् । जेठ मसान्तसम्ममा पुलको जिप तयार गर्ने, मंसिर मसान्तसम्ममा ट्रष्ट जोड्ने र पुस मसान्तसम्ममा पुल निर्माण गरेर माघको पहिलो साताबाट सवारी सञ्चालन हुने अवस्था तयार गर्ने वाइवा केउरीनी जेभी कन्ट्रक्सनका प्रतिनिधि रविन्द्र लामाले सरोकारवाला र स्थानीय नागरिक सामु लिखित प्रतिवद्धता जनाए । यही कार्ययोजना अनुसार निरन्तर काम अघि बढाउने उनले बताए । ‘विभिन्न कारणले ढिला भयो अब काम तीव्र गतिमा अघि बढ्छ ।’ लामाले भने,‘पुस मसान्तसम्ममा पुल बनाई सकेर गाडी गुड्ने बनाउँछु ।’ वर्षा अगावै आधाभन्दा बढि काम सक्ने उनले बताए ।
भ्याट सहित ४ करोड ३ लाखमा मोलुङ दोभानको पक्कि पुल २०७५ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरि २०७३ असारमा वाइवा केउरीनी जेवी कन्ट्रक्सनले ठेक्का सम्झौता गरि जिम्मा लिएको थियो । सम्झौता अवधि सकिन ३ महिनामात्रै बाकीँ छँदा भर्खरै काम सुरु भएको छ ।
वाइवा केउरीनी जेवी कन्ट्रक्सनले नै २ वर्ष अघि सक्नेगरि ठेक्का लिएको मान्द्रे दोभानको पुलको काम पनि अघि बढ्न सकेको छैन । दुवै पुल निर्माणको काम आगामी पौष मसान्तसम्ममा सक्ने ठेकेदार लामाले प्रतिवद्धता जनाएका छन् ।
दोस्रो पटक मौका नदिने चेतावनी
समयमा काम नगर्ने ठेकेदारले अब तत्काल काम अघि बढाउने बताएपछि सांसद यज्ञराज सुनुवारले दोस्रो पटक मौका नदिने चेतावनी दिए । ‘ठेक्का लिने काम नगर्ने यो प्रवृत्ति अब चल्दैन याद गर्नुस्’ सुनुवारले ठेकेदारलाई भने ‘अब तपाईले प्रतिवद्धता जनाए अनुसार काम नगरे कालो सुचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ ठेकेदार लामालाई काम नसक्दासम्म जिल्ला नछाड्न आग्रह गरे । विकास निर्माणमा ढिला सुस्ती र अनियमिता गर्ने जो कोहीलाई नछाड्ने सांसद सुनुवारले चेतावनी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले समयमा काम नगर्ने ठेकेदार र विकासको विरोध गर्नेहरुलाई जनताका बीचमा नै कारबाही गरिने बताए । ‘जिम्मा लिएको काम नगर्ने, भ्रष्टचार गर्ने र विकासको बाधक बन्ने जो सुकै होस् जनताका बीचमा उभ्याएर कारबाही गरिन्छ ।’ प्रमुख श्रेष्ठले भने ‘फिल्डमै जाने,त्यहीँ समातेर जनताका अगाडी कारबाही गर्ने हो ।’ सोही अभियान अन्तरगत सोमबार मोलुङ दोभानको पुल निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई नागरिकका अघि काम गर्ने प्रतिवद्धता जनाउन लगाएको उनले बताए ।
जिल्लाका दर्जनभन्दा बढि विकासका आयोजना ठेक्का लागेर पनि निर्माण सम्पन्न गरि सक्नुपर्ने समय सकिँदासम्म काम सुरु नै गरिएको छैन । कतिपय आयोजनाहरु आधा काम गरेर अलपत्र अवस्थामा छाडिएको छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।