उच्च मनोवलका साथ काम गर्न कर्मचारीलाई मुख्यमन्त्री गुरुङको निर्देशन
शान्ता कमली लमजुङ २६ चैत | ११ मिनेट अगाडि
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई सम्बोधन गर्दै उच्च मनोबलका साथ सेवामा लाग्न निर्देशन दिएका छन् ।
सोमबार दसौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाट्न गर्न गृहजिल्ला लमजुङ आएका मुख्यमन्त्री गुरुङले जिल्लाका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
संक्रमणकालको अन्त्य भइसकेकाले मुलुकको सम्वृद्धिका लागि कर्मचारीहरु इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार भएर जनतालाई सेवा प्रवाह गर्न लाग्नुपर्ने उनले बताए ।
‘कर्मचारीतन्त्र एउटा स्थायी सरकार हो, त्यसैले विचलित हुनु जरुरी छैन, मुख्यमन्त्री गुरुङले भने, ‘मुलुक नयाँ संरचनामा गईसकेको अवस्थामा यसलाई सफल बनाउनेतर्फ लाग्नुस् ।’
देशले नयाँ उपलब्धि हासिल गरेको र यसलाई कार्यान्वयनमा लैजान कर्मचारीको महत्वपूर्ण भूमिका रहने भन्दै उनले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जिल्लाको अवस्थाबारे जानकारी दिँदै जिल्लाका सबै स्थानिय तहमा कर्मचारीको व्यवस्था नभएकाले कर्मचारी समायोजन गर्न आवश्यक रहेको बताएका थिए ।
प्रजिअ मैनालीले कर्मचारीहरु गाउँपालिकाका दुर्गम क्षेत्रमा जान इन्कार गर्ने गरेको भन्दै कर्मचारी समायोजन भए जनताले समयमै सेवा पाउने बताए ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु सहभागी थिए ।
सञ्चार नीति बैज्ञानिक बनाउने तयारीमा प्रदेश सरकार
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार सञ्चारनीति वैज्ञानिक बनाउने तयारीमा जुटेको बताएका छन् ।
पत्रकार महासंघ लमजुङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्रीले सो जानकारी दिएका हुन् ।
सोमबार गृहजिल्लामा आएका मुख्यमन्त्री गुरुङलाई नेपाल पत्रकार महासंघले सम्मान गरेको थियो ।
जिल्लाका सञ्चारकर्मीसँग कुरा गदै मुख्यमन्त्री गुरुङले साना लगानीको सञ्चारमाध्यमको स्थायित्वका लागि न्यायोचित र वैज्ञानिक नीति तर्जुमा गर्न लागिएको जानकारी दिए ।
उनले प्रदेशको सम्बृद्धिका लागि विभिन्न क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको पनि बताए ।
उनले २०२१ सम्ममा पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय हवाई मार्गबाट आउने पर्यटनलाई थेग्ने गरी आजदेखि नै काम गर्न जरुरी रहेको र अर्गानिक उत्पादनमा जोड दिनपर्ने बताए ।
उनले प्रदेश सरकारले ग्रामीण पर्यटनका अतिरिक्त, धार्मिक र सांस्कृतिक पर्यटनको विकास, खेलकुद पर्यटन, सभा सम्मेलन पर्यटन, शैक्षिक पर्यटनको विकास गरिनुपर्नेमा जोड दिए ।
धार्मिक र सांस्कृति पर्यटनका लागि प्रदेशका सबै जिल्लालाई समेट्ने गरी एक धार्मिक पदमार्गको निर्माणमा सरकार जुटि रहेको पनि बताए ।
त्यस्तै मध्य पहाडी लोकमार्गको विवादित क्षेत्र लमजुङको सुन्दरबजारमा कम नोक्सान हुने गरी छिट्टै डोजर लगाउने काम हुने जानकारी दिए ।
उनले भने ‘त्यसका लागि सरकारले खटाएको अधिकार सम्पन्न कार्यदलले दिने सुझावलाई कार्यान्वयन गरिने छ, त्यो वेला अन्य कुनै सुनुवाइ हुँदैन ।’
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।