११ दिनदेखि बेपत्ता डंगोल मारिएको तस्बिर उनकै फेसबुकमा
अनु आचार्य रसुवा, २७ चैत | ३१ सेकेण्ड अगाडि
तीन साताअघि रसुवाको मोर्डन ट्रिनिटी इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक चित्रमान डंगोलको आफु स्याफ्रुमा होटेल व्यवसाय गर्छु भनेर बताउने राजन नगरकोटीसँग नुवाकोटको बट्टारमा भेट भयो । भेटमा नगरकोटीले आफूले रसुवाको स्याफ्रुमा होटेल व्यवसाय गरिरहेको र घर पनि बेचेकाले कुनै क्षेत्रमा लगानी गर्न चाहेका बताए ।
नगरकोटीले डंगोलले सञ्चालन गर्दै आएको विद्यालयमा सेयर लगानी गर्न इच्छा देखाए । आपसी समझदारीेपछि उनलाई नगरकोटीले १५ चैतमा स्याफ्रु आउन आग्रह गरेपछि डंगोल बिहानै घरबाट निस्किएको श्रीमती लक्ष्मी थोक्रा डंगोलले बताइन् ।
‘हामीबीच नराम्रो केही भएको थिएन, सल्लाहमै एक वर्षअघि टिमुरेका काले तामाङसँग लिइएको ६ लाखको ब्याज करिब डेढ लाख रुपैयाँ पुगेको थियो, त्यो रकम पनि दिएर आउँछु र राजनसँग सल्लाह गरेर आउँछु भन्नुभएको थियो । अनि म स्कुल गएँ, उहाँ घरबाट निस्किनुभयो,’ उनले भनिन् ।
जिल्लाको उत्तरगया गाउँपालिका–५ लहरेपौवाका डंगोल १५ चैत बिहानै ‘स्याफ्रुबेसी’ जान घरबाट निस्किएका थिए । ‘उहाँ बिहान सवा ८ बजे घरबाट निस्किनुभएको थियो । त्यसपछि म खाना खाएर स्कुल गएँ ।
विद्यालय छुट्टी भएपछि मैले फोन गर्दा फोन लागेन,’ श्रीमती लक्ष्मीले भनिन् । बेपत्ता भएपछि परिवारले उनको खोजी सुरु ग¥यो । साथीभाइ, आफन्त भएतिर सम्पर्क गर्दा फेला नपरेपछि १८ चैतमा परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएका थिए ।
सात घन्टा जिल्ला बन्द
११ दिनदेखि बेपत्ता विद्यालय सञ्चालक डंगोलको फेसबुकमा उनकै वीभत्स तस्बिर पोस्ट भएपछि आफन्तले सोमबार सात घन्टा जिल्ला बन्द गराएका छन् । डंगोलको फेसबुकमा आइतबार राति १०ः४५ मा ‘१२ वर्षअघि भाइलाई छुरा हानेको बदला लिन मारिएको’ स्टाटससहितको फोटो पोस्ट भएको थियो । त्यसको सत्यतथ्य पत्ता लगाउन माग गर्दै आफन्तले सोमबार बिहान ७ देखि दिउँसो २ बजेसम्म रसुवा बन्द गराए ।
बेपत्ता भएका उनको खोजीका लागि प्रहरीलाई उजुरी दिए पनि चासो नदिएको र वीभत्स ढंगले हत्या भएको तस्बिर सार्वजनिक हुँदा पनि अभियुक्त पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रसुवा बन्द खुलाउने विषयमा प्रशासनले पीडित पक्षसँग छलफल गर्दै घटनाबारे जतिसक्दो चाँडो यथार्थ पत्ता लगाउने प्रतिबद्धता जनाएको छ ।
फेसबुकमा सार्वजनिक तस्बिर झुटो : प्रहरी
डंगोलको फेसबुकमा वीभत्स हत्या गरिएको तस्बिर झुटो रहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा ६ महिनाअघि अन्य सञ्जालमा प्रयोग गरिएको तस्बिर पोस्ट गरिएको भेटिएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापाको भनाइ छ । बेपत्ता भएका डंगोलको खोजी कार्य तीव्र बनाइएको थापाले बताए ।
आइतबार राति १०ः४५ बजे डंगोलको फेसबुकमा लेखिएको थियो, ‘जसरी यसले मेरो भाइको १२ वर्षअघि पेटमा छुरी हानेको छ, भाग्यले मेरो भाइ बाँच्यो र आजसम्म ऊ अशक्त छ, यसलाई पनि मेरो भाइको जस्तै हाल बनाउने चाहना छ ।
तर, यो बाँच्यो भने मेरो बर्बाद पारिदिन्छ । यति राम्रो मौका पाइयो, कसैले पत्ता नलगाई सिद्धियो, यसैको फेसबुकमा लेख्ने पोस्ट गर्ने, यो पनि यसको मोबाइलबाट हा हा… सबैको पालो आउँछ भनेको यो हो । पैसा पनि रेछ…हा हा…।’
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।