प्रदेश ५ को नीति तथा कार्यक्रम पारित
नयाँ पत्रिका बुटवल, २७ चैत | ३६ सेकेण्ड अगाडि
प्रदेश ५ सरकारले प्रस्तुत गरेको ७५ बुँदे नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश संसद्को सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
संसद् बैठकमा नीति तथा कार्यक्रममाथि प्रदेश सभाका २२ सदस्यले छलफल गरेका थिए । प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रम अपुरो रहेको बताएका थिए भने सत्तापक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताएका थिए ।
संसद्मा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री शंकर पोखरेलले दिएका थिए । उनले जवाफ दिएपछि सभामुख पूर्ण घर्तीले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए ।
नीति कार्यक्रममा विकासको भिजन : मुख्यमन्त्री
मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रम तीन महिनालाई भनिए पनि प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोणका साथ आएको बताए । यो नीति तथा कार्यक्रम सिंगो प्रदेशको विकासका लागि भिजन हो,’ उनले भने, यहाँको विकासका लागि अब सत्तापक्ष र प्रतिपक्ष भनेर हैन एक भएर अगाडि बढौँ ।’
उनले पाँच वर्षपछि आआफ्ना निर्वाचन क्षेत्रमा फर्किँदा गर्व गर्ने गरी विकास हुने पनि बताए । उनले विकासका एजेन्डामा सबै एक हुन आग्रह गरे । उनले यसपटक प्रदेशमा प्राप्त बजेट कम रहेको र यो तीन महिनामा सो बजेट आधाजसो प्रशासनिक तथा तलब, भत्तामा सकिने अवस्था रहेको बताए ।
उनले बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा सडक क्षेत्रबारे प्राविधिक अध्ययन गरिने बताए । यस्तै, प्रदेशको समग्र विकासका विभिन्न कार्यक्रमबारे उनले स्पष्ट पारेका थिए ।
प्रतिपक्षसँग छलफल नभएको गुनासो
प्रदेश सभा बैठकमा सत्तापक्षका केही सांसदले प्रतिपक्षसँग सल्लाह नै नगरी नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका थिए । उनीहरूले धेरै कुरा नीति तथा कार्यक्रममा छुटेको समेत बताए । नीति तथा कार्यक्रमविरुद्ध बोलेका उनीहरूले निर्णयार्थ प्रस्तुत गर्दा भने मौन रहे ।
कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले संसद्मा विरोध गरे पनि निर्णयार्थ प्रस्तुत गर्दा मौन रहेको बताए । उनले भने, ‘हामीले विरोध गर्दैमा पारित नहुने स्थिति थिएन, त्यही भएर मौन बस्याैँ ।’
प्रदेश सभाको सोमबारको बैठकमा कमलराज श्रेष्ठ, विष्णुप्रसाद पन्थी अमरबहादुर डाँगी, विमला शर्मा पन्थी, युवराज खनाल, उत्तरकुमार वली, तुल्सीप्रसाद चौधरी, धानकुमार थापा, जाल्पा भुसाल, रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोखरेल, पुरनमान बज्राचार्य, सरस्वती गौतम, भगवती भण्डारी, कृष्णध्वज खड्का, पार्वती पुन, इन्द्रप्रसाद खरेल, दिनेश पन्थी, इन्द्रजित थारू, दामा शर्मा, तिलकराम शर्मा, तेजबहादुर वली, दीपेश थारू, अर्जुनकुमार श्रेष्ठ, वैजनाथ कलावार, निर्मला क्षेत्री, रमा अर्याल, भुवनेश्वर चौधरी, फखरुद्दिन खान, सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, तारा जिसीले नीति तथा कार्यक्रममाथि संसद्मा छलफल गरेका थिए । प्रदेश संसद् बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले आइतबार ७५ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।