कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरद्वारा सपथ ग्रहण
खगेन्द्र भट्टराई / नयाँ पत्रिका सुर्खेत, २८ चैत | १५ मिनेट अगाडि
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । कर्णाली प्रदेश प्रमूखको कार्यालयमा एक समारोहबीच उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस हरिकुमार पोखरेलले मानन्धरलाई सपथ ग्रहण गराएका हुन् । मुख्य न्यायधिवक्ता मानन्धरले ईश्वरको नाममा सपथ लिएका हुन् ।
कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेशका मन्त्रीहरुको उपस्थितीमा सपथ ग्रहण गराइएको हो ।
मुख्यमन्त्रीकाे सिफारिसमा प्रदेश प्रमुखले गरेका थिए नियुक्ति
माओवादी केन्द्र निकट मानन्धरलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेशप्रमुख दुर्गा केशर खनालले बुधबार मुख्य न्यायधिवक्ता नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मानन्धरलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका मानन्धर २०५२ सालदेखी अधिवक्ता भएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य समेत रहेका मानन्धर नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य हुन् ।
मुख्य सचिव र एआइजीलाई विदाई
कर्णाली प्रदेशका प्रमुख सचिव सुरेश प्रधान र प्रहरी अतिरिक्त महानिरिक्षक रणबहादुर चन्दलाई बुधबार नै विदाई गरिएको छ । मुख्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षकलाई बिदाई गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणमा ठुलो भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
एआइजी चन्दले निर्वाचन धाँधलीरहित बनाउनेदेखि शान्ति सुरक्षा कायम गर्न खेलेको भुमिका र प्रमुख सचिव प्रधानले कर्णाली प्रदेशको संरचना व्यवस्थापनको जटिल अवस्थामा पनि डटेर काम गरेको भन्दै बधाई समेत दिए ।
विदाई कार्यक्रममा कर्णाली प्रदेशका एआईजी र प्रमुख सचिव दुबैले कर्णाली प्रदेशबाट बिदा भएर गए पनि कर्णालीको हरेक समस्यामा साथ दिने बताए । एआईजी रणबहादुर चन्दले आफू जहाँ रहे पनि कर्णालीको समृद्धिका लागि डटेर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रमुख सचिव सुरेश प्रधानले कर्णाली प्रदेशमा गरेका हरेक चुनौतिपुर्ण कामले सिक्ने अवसर मिलेको बताए । उनले प्रदेशको बिकास र समृद्धिका लागि सरकार र कर्मचारीबीचको सुमधुर सम्बन्ध जरुरी भएको बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।