माथिल्लो तामाकोसीको काम धकेल्ने गतिविधी देखिए कडा कारवाही: प्रधानमन्त्री
श्याम खतिवडा/नयाँ पत्रिका दोलखा, २८ चैत | ०२ घन्टा अगाडि
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीमा निर्माण भैरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम तोकिएको समय भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
बुधबार स्वदेशी लगानीको सबै भन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोशीको अनुगमन गर्न दोलखाको लामाबगर पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय गौरबको आयोजना तामाकोसी कुनै एक दिनमात्र ढिला हुँदा पनि राज्यलाई करोडौं घाटा लाग्ने भएकाले जिम्मेवार हुन सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार कुनैपनि काममा सुस्त नहुने बताउँदै कही कतैबाट ढिला भए तत्काल आफुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भने ‘ हामी विकास निर्माणका कामलाई ढिला गराउने पक्षमा छैनौँ, तामाकोसी आयोजना पनि तोकिएको समयभित्रै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’
उनले कुनै सरकारी निकायले ढिलासुस्ती गरे कार्बाही गर्ने बताउँदै कुनैपनि बहानामा आयोजना धकेल्ने गतिविधी भएको देखियो भने सरकार कडा भएर प्रस्तुत हुने जनाएका छन् । आयोजना अनुगमनमा प्रधानमन्त्री ओली चिनीयाँ राजदूत यु होङ, उर्जा तथा सिँचाइमन्त्री वर्षमान पुन, उर्जा सचिब अनुपकुमार उपाध्याय, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले आयोजनाको सुरुङ मार्ग, भूमिगत विद्युत गृह र बाँधस्थल समेतको निरीक्षण गरेका छन् । अनुगमन पछि प्रधानमन्त्री ओलीले लक्ष्य अनुसार काम गर्न नसकेको भारतीय निर्माण कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीसँग आवश्यक परामर्शसहित कामप्रति जिम्मेवार हुन आग्रह गर्ने प्रतिक्रिया दिए । टेक्सम्याकोको ढिलाइका कारण आयोजना झण्डै एक वर्ष लम्बिनसक्ने जानकारहरु बताउँछन् ।
४ ओटा प्याकेजमा निर्माण भैरहेको आयोजनामा छुट्टाछुट्टै विदेशी ठेकेदार कम्पनीले काम गरिरहेका छन् । आयोजनाको ९४ प्रतिशत काम सकिएको छ । आयोजनाको लागत ३५ अर्बबाट बढेर अहिले सम्म ४६ अर्ब पुगिसकेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । ठेकेदारको लापरबाहीका कारण आयोजनाको निर्माण कार्य सन्तोषजनक देखिएको छैन । प्रधानमन्त्री ओलीसँगै आयोजनास्थल पुगेकी चिनियाँ राजदूत होङले पनि आयोजनाको मुख्य ठेकेदार चिनिया कम्पनी सिनो हाइड्रोका प्रतिनिधिलाई भेट्दै काम चाँडो सक्न निर्देशन दिएकी छन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।