अवसर पाए केही गरेर देखाउन सकिन्छ भन्ने कुरालाई दुर्गम ठाउँमा घर भइ हाल शहरी क्षेत्रमा बसेर अध्ययन गरिरहेका चेपाङ विद्यार्थीले पुष्टि गरिदिएका छन् । सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाले पढ्ने अवसरलाई सदुपयोग गर्दै उत्कृष्ट नतिजा निकालेका छन् ।
१ देखि ७ कक्षासम्म दुई फरक विद्यालयमा पहिलो, दोस्रो र तेस्रो चेपाङ विद्यार्थी भएका छन् । कक्षा ८ को पनि पहिलो स्थान भने चेपाङ विद्यार्थीले नै हासिल गरेपछि शिक्षक, अभिभावकहरु दंग परेका छन् । हालै सार्वजनिक भएका विद्यालयका केही नतिजा हेर्दा राम्रो आवास, अध्ययन वातावरण र सुविधा पाए कमजोर विद्यार्थीले पनि उपलब्धि हासिल गर्न सक्छन् भन्ने पुष्टि भएको छ, वैरीयमा मावि रत्ननगरका प्राचार्य युवराज शर्मा पौडेलले भने,‘अन्य विद्यार्थी भन्दा बढी मेहेनती, इमान्दार, अनुशासित चेपाङ विद्यार्थी नै देखिएका छन् ।’
रत्ननगर नगरपालिका –११ मंगलपुरमा गाम बेशीको चेपाङ संरक्षण केन्द्रमा छात्रावास वसेर अध्ययन गरिरहेका चेपाङ छात्र र छात्राले आफूहरु अध्ययनरत विद्यालयमा राम्रो नतिजा ल्याएका छन् । कक्षा ८ मा पहिलो भएका इश्वर चेपाङले गाउँमै भएको भए यतिखेर पढाइ छाडेर काममा व्यस्त हुने बताए । ‘विद्यालय जान पनि टाढा र पारिवारिक अवस्था पनि कमजोर हुँदा हामीसँगैका कतिपय साथीले पढाइ छाडिसकेका छन्,’ उनले भने ।
छात्रावास नजिक रहेको पञ्चतेज प्राथमिक विद्यालयमा चेपाङ केन्द्रबाट ७० जना र गाउँका ६४ गरि कुल १३४ बिद्यार्थी अध्ययन गर्छन् । जसमा गुरुङ, मगर, चेपाङ, दलित, क्षेत्रीलगायतका जातजातीका विद्यार्थीहरु अध्ययन गर्छन् । तर विद्यालयको सबै कक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान भने छात्रावासकै चेपाङ बालबालिको हासिल गरे ।
कक्षा एकमा प्रथम महेश चेपाङ, दोस्रो सैलेन्द्र चेपाङ र तेस्रो प्रदिप चेपाङ भए । कक्षा २ प्रथम रमिता चेपाङ, दोस्रो राजकुमारी र तेस्रो प्रचण्ड चेपाङ भए । कक्षा ३ मा प्रथम कुमार चेपाङ, दोस्रो बसन्ती चेपाङ र तेस्रो किरण चेपाङ भए । त्यस्तै कक्षा ४ मा प्रथम निशान्त चेपाङ, दोस्रो शुवर्ण चेपाङ र तेस्रो बिपिन चेपाङ भए भने कक्षा पाँचमा प्रथम मात्रिका चेपाङ, दोस्रो अशिम चेपाङ र तेस्रो सृजना चेपाङ भइन् ।
‘गाउँमै हुन्थे भने कतिपयको बिहे भएर छोराछोरी पाइसकेका हुन्थे, कतिपय गाईवस्तु र घाँस दाउरा गरिरहेका हुन्थे, गामवेसीको चेपाङ संरक्षण केन्द्रका प्रमुख केपी किरण शर्माले भने,‘मैले अभिभावकको हैसियतमा उनीहरुलाई गरेको योगदानको फल मिलेको महसुस भएको छ ।’
वैरिया माविमा कक्षा ६ जम्मा विद्यार्थी संख्या २८ जना रहेकोमा प्रथम रुबिन चेपाङ, दोस्रो राजेन्द्र चेपाङ र तेस्रो शिबराम चेपाङ तथा कक्षा ७ मा विद्यार्थी संख्या ६३ रहेकोमा प्रथम सिम्रन चेपाङ, दोस्रो जितबहादुर चेपाङ, तेस्रो सुनिल चेपाङ र कक्षा ८ विद्यार्थी संख्या ३६ रहेकोमा प्रथम ईश्वर चेपाङ भएको विद्यालयका प्राचार्य युवराज शर्मा पौडेलले बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।