वर्षौदेखि हवाई सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाई जहाजको सहज सुविधा पाउने भएका छन् । प्रधानमन्त्रीको त्रिपूरा सुन्दरी भ्रमणको बिशेष व्यवस्थापनका लागि गृह जिल्ला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री धनबहादुर बुढाले डोल्पाको त्रिपुराकोटमा संञ्चारकर्मीहरुसँग यस्तो कुरा बताएका हुन ।
इतिहासमै पहिलो पटक नेपालमा स्थायी सरकार बनेकोले डोल्पाली जनताले पूर्ण रुपमा सरकारको सेवा महसुस गर्ने गरि हवाइ उडान र पर्यटनको विकास गर्ने बताए । नागरिक उड्यन प्राधिकरणसँग एक प्रकारको छलफल भै सकेकोले कर्णालीका जनताले छिटोभन्दा छिटो हवाइ सेवामा सहज सुविधा पाउने राज्यमन्त्री बुढाको भनाई छ । नेपाल एअरलाइन्सको उडान थप गर्नुका साथै अन्य नीजि कम्पनीका जहाजलाइ पनि भाडादरमा एकरुपता गरि सबै जहाजहरु नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बाह्रै महिना तैनाथ रहने गरि व्यवस्थापनको प्रक्रिया अगाडि बढाईएको जानकारी दिए ।
उनले भने -‘नागरिकउड्यन प्राधिकरणले नीजि विमानकम्पनीसँग सिटको व्यवस्थापन गरेर भएपनि हिमाली तथा दुर्गम जिल्लाहरुमा उडान सहज बनाउने तयारी गरिएको छ ।’ राज्यमन्त्री बुढाले डोल्पाको जुफाल विमानस्थलको निरीक्षण गर्नुका साथै धावनमार्ग साघुँरो भएको कारण अब प्राविधिकहरुसँग छलफल गरि धावनमार्गको क्षमता बिस्तार गरिनुका साथै जति धेरै जहाज भित्र्याउन सक्यो त्यति नै डोल्पामा पर्यटकहरु भित्रिने र स्थानीयको आयस्तरमा बृद्धि हुने उनको दाबी छ ।
कर्णाली प्रदेशमा धार्मिक,साँस्कृतिक तथा बहुमुल्य जडिबुटीले भरिपूर्ण र पर्यटनको भण्डार भएको प्रदेश भएको कारण कर्णाली पर्यटन प्रदेशका रुपमा परिचित भएको राज्यमन्त्री बुढाले दाबी गरे ।
उनले भने -‘आन्तरीक सडकको विस्तार पर्यटकीय मार्गको निर्माण र स्तरोन्नतीका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संक्षणको लागि सरकारले कुनै कसुर बाँकी नराख्ने तर स्थानीयले त्यसमा साथ दिनुपर्छ।’
स्वागतमा पुगेका नागरिकहरुले सडकले नछोएको जिल्लामा हवाई सेवाको सुविधा कहिले पाउछाैँ भन्दै प्रश्न गरेका थिए ।आफ्नै जिल्लाको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हुँदा झनै टिकटमा सास्ती भोग्नु परेको अधिकांश नागरिकका गुनासा थिए ।
यहि बैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको उद्धघाटन गरि भव्य रुपमा पर्यटन वर्ष मनाइने र निकट भविष्यमा नै डोल्पामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सुण्डो र विश्वकै अग्लो स्थानमा रहेको धो उपत्यकामा बिशेष महोत्सव मनाउने तयारी गरिएको जानकारी राज्यमन्त्री बुढाले दिए ।
बैशाख १ गते मुगुको रारामा हुन लागेको कर्णाली रारा पर्यटनको उद्धघाटनमा जान लागेका प्रधानमन्त्री केपि शर्मा ओली शुक्रबार शे–फोक्सुण्डो तालको हवाइ भ्रमण गरि प्रख्यात बालात्रिपूरा सुन्दरी माताको मन्दीरमा पुजा गर्ने कार्यक्रम रहेकोले जिल्लाका सबै जनताहरु भेला हुने र एक घण्टाको कार्यक्रममा सहभागी हुने नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले जानकारी दिए । प्रधानमन्त्री आउने भए पछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।