- मनोज भुजेल,
सुनसरी । कला–कृति संग्रहित गर्ने उद्देश्यसहित एक दशक अगाडी सुनसरीको इटहरीमा काव्यवाटीका स्थापना गरिएको थियो । जहाँ धेरै कालाकारका कलाकृति संग्रहित छ । तर, स्थानीय सरकार भने वाटीका मासेर अस्पताल बनाउन कसरतमा लाग्दा कलाकर्मी चिन्तित छन् ।
इटहरीमा स्थानीय कलाकर्मीको पलहलमा एक दशक अगाडी कलाकृति संग्रहित गर्न काव्यवाटिका बन्यो । जुन कामको नेतृत्व कलाकार विक्रमश्रीले गरेका थिए । जमिन, तत्कालिन इटहरी नगरपालिकाले उपलब्ध गराएको थियो । वाटिकामा स्वदेशी तथा विदेशी कलाकारको कलाकृति संग्रहित छ ।
यो वाटिका पुर्वी नेपालमा मुर्तिकलाका लागि नमुना क्षेत्रको रुपमा स्थापित छ । जहाँ दर्जनौ मुर्तीकारका मुर्ती संग्रहित छ । तर, इटहरी उपमहानगरपालिका भने काव्यवाटिका रहेको क्षेत्रमा क्यान्सर अस्पताल बनाउन सहमत भइसकेको छ । वाटिका मासेरै अस्पताल बनाउने तयारी भएपछि कलाकर्मी र स्थानीयले विरोध गरेका छन् ।
वाटिका निर्माणका लागि इटहरी, धरान र इनरुवा नगरपालिकाले २५ लाखका दरले लगानी गरिसकेका छन् । त्यति मात्र होइन, कलाकर्मीको महिनौ श्रम वाटिका निर्माणमा खर्च भएको छ । वाटिकामा पुरातात्मिक महत्वको कला संग्राहलय निर्माणका लागि पुरातत्व विभागले समेत पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरिसकेको छ ।
इटहरी उपमहानगरपालिका भने अहिलेसम्मका लगानी माटोमा मिलाएर वाटिका मास्न लागिपरेको छ । वाटिका रहेको स्थानमा अस्पताल बनाउन सहमति दिइसकेकाले पछिहट्ने अवस्था नरहेको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् ।
कला, संस्कृति हाम्रा सभ्यता हुन । सभ्यता संरक्षणको मुख्य जिम्मेवारी सरकारकै हो । तर, सरकार कला, संस्कृति संरक्षणमा अग्रसर छैन ।
कलाकर्मीनै कलाकृति संरक्षणमा जुट्दा इटहरीमा काव्यवाटिका स्थापना भएको थियो । अहिले वाटिका नै मास्ने योजना बन्नु राम्रो काम नहुन सक्छ । अस्पताल स्थापना गर्नु नराम्रो काम होइन । तर, एउटा संरचना बनाउँन अर्को संरचना मास्नु कदापी राम्रो होइन ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।