अध्यक्ष पौडेललाई उपचारका लागि काठमाडौं लगियो
नयाँ पत्रिका ओखलढुंगा, १ वैशाख | ०२ घन्टा अगाडि
अज्ञात समूहको आक्रमणबाट घाइते ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएकोे छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि घाइते अध्यक्षलाई काठमाडौं पठाइएको हो ।
अवस्था गम्भीर नरहे पनि चेकजाँच र उपचारका लागि राजधानी पठाइएको गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन् । ‘नजिकै राम्रो उपचार गर्ने ठाउँ नभएकाले थप चेकजाँच र उपचारका लागि अध्यक्षलाई राजधानी लगिएको हो,’ उनले भनिन् ।
अध्यक्ष पौडेलमाथि चैत २७ गते राति गाउँपालिका केन्द्रमा आक्रमण भएको थियो । उनको हात, तिघ्रा र घुँडामा गहिरो चोट लागेको छ । राति सुतिरहेका वेला उनलाई चारजनाको समूहले बाहिर बोलाएर काठको मुंग्राले आक्रमण गरेका थिए ।
पौडेल एमालेबाट निर्वाचित अध्यक्ष हुन् । एमाले ओखलढुंगाले पौडेलमाथि आक्रमण गर्ने समूह पहिचान गरेर कारबाही गर्न माग गरेको छ ।
जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गरी ज्यान मार्ने उद्देश्यले जनप्रतिनिधिमाथि आक्रमण गरिएको भन्दै आक्रमणको निन्दा गरेका छन् । अध्यक्ष पौडेल एमाले जिल्ला कमिटीको लेखा कमिटीका संयोजक पनि हुन् ।
पौडेललाई आक्रमण गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली अनुसन्धानमा खटिएको र हालसम्म आक्रणमकारी पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।