मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ यसअघिको पूर्वाञ्चल विकास क्षेत्रका सिराहा र सप्तरीबाहेकका जिल्ला समेटिएको प्रदेश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशका १४ वटा जिल्लामा १३७ वटा स्थानीय तह छन् । संविधानअनुसार व्यवस्था गरिएको संघीय संरचनाअनुसार क्षेत्रफलको हिसाबमा प्रदेश नम्बर ६ सबैभन्दा ठूलो प्रदेश हो भने त्यसपछिको दोस्रो ठूलो प्रदेश १ नम्बर प्रदेश हो । जनसंख्या, क्षेत्रफल, भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, ऊर्जालगायत प्राकृतिक स्रोत–साधनले यस प्रदेशको विकासको प्रशस्त सम्भावना देखाउँछ । यस्तो छ प्रदेश नम्बर १ :
संघीय संरचना र राजनीतिक अवस्था
स्थानीय तह
प्रदेश नं. १ मा १३७ वटा स्थानीय तह छन् । जसमध्ये १ महानगर, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका छन् । संघीय संरचनाअघि पूर्वाञ्चल विकास क्षेत्रमा रहेका सिराहा र सप्तरीबाहेकका सबै जिल्ला यस प्रदेशमा समावेश छन् । साबिकका मेची अञ्चलका ४, कोसीका ६ र सरगमाथाका ४ गरी १४ जिल्ला यस प्रदेशमा पर्छन् । संविधानअनुसारको राज्यको पुनर्संरचनापछि भने १ नम्बर प्रदेश तोकिएको यस क्षेत्रमा मुलुकभरका ७५३ मध्ये १३७ स्थानीय तह पर्छन् ।
प्रदेश र केन्द्र
९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ जना सांसदले प्रतिनिधित्व गरेका छन् । जसमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १६, संघीय समाजवादी फोरमका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । प्रतिनिधिसभामा एमालेका ३२, कांग्रेसका १४, माओवादी केन्द्रका ८ र राप्रपाका १ सांसदले यसै प्रदेशबाट प्रतिनिधित्व गर्छन् । राष्ट्रिय सभामा निर्वाचित ५६ मध्ये ८ जना यसै प्रदेशका छन् । ८ मध्ये ६ एमालेका र २ कांग्रेसका छन् ।
प्रदेश सरकार
प्रदेश नम्बर १ मा सरकार गठन गर्न एमालेसँग स्पष्ट बहुमत भए पनि माओवादी केन्द्र सम्मिलित सरकार गठन भएको छ । एमाले नेता शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री छन् । मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री जगदीश कुसैत गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन छ ।
आर्थिक स्थिति
कृषि भूमि : ६ लाख हेक्टर
प्रतिव्यक्ति आय : १२११ अमेरिकी डलर
बहुआयामिक गरिबी परिसूचक : ०.०८५
प्रमाणपत्र वा सोभन्दा माथि उत्तीर्ण : २,२५,३७१
राजस्वमा योगदान : ८.३५
प्रदेश नम्बर १ मा ६ लाख हेक्टर जमिनमा कृषि उत्पादन हुने गरेको छ । नेपालकै कुल कृषिभूमिको यो २४ प्रतिशत हो । मुलुककै सबैभन्दा बढी कृषिभूमि भएको प्रदेश १ नम्बर प्रदेश नै हो । यहाँको प्रतिव्यक्ति आय १२११ अमेरिकी डलर छ । यो प्रदेश नम्बर ३ र ४ भन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा बढी हो । यो प्रदेश बहुआयामिक गरिबी परिसूचकको तुलनामा पनि प्रदेश नम्बर ३ बाहेक अन्य प्रदेशभन्दा धनी छ । मुलुककै दोस्रो शिक्षित नागरिक भएको प्रदेश हो । ३ नम्बर प्रदेश प्रमाणपत्र वा सोभन्दा माथि उत्तीर्ण जनसंख्या बढी भएको प्रदेश हो भने त्यसपछिको प्रदेश नम्बर १ नै हो । यस प्रदेशबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा १९ अर्बको उत्पादन निकासी भएको छ । जसमध्ये ५ अर्ब ६८ करोडको चिया मात्र निकासी भएको छ ।
मुख्य बालीनाली
नेपालकै सबैभन्दा बढी धान उत्पादन हुने झापा, सुनसरी, मोरङ यही प्रदेशमा पर्छ । धानलगायत प्रदेश नम्बर १ मा मकै, कोदो, गहुँ, फापरलगायत खाद्यान्न बाली उत्पादन हुन्छ । इलाम, झापालगायत जिल्लामा चिया प्रशस्त उत्पादन हुन्छ । संखुवासभा, तेह्रथुम, पाँचथरलगायत जिल्लामा प्रशस्त मात्रामा अलैँची खेती हुने गरेको छ । नेपालमा अलैँची उत्पादनको उर्वर भूमि प्रदेश नम्बर १ नै हो । संखुवासभा तथा भोजपुरलगायत प्रदेश नम्बर १ कै केही जिल्लामा रुद्राक्ष उत्पादन हुने गरेको छ । अदुवा उत्पादनसमेत हुने यस प्रदेशमा धनकुटा, ओखलढुंगालगायत पहाडी जिल्लामा प्रशस्त सुन्तला उत्पादन हुन्छ ।
चालू आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकमा आयात र निर्यातको अवस्था हेर्दा प्रदेश नम्बर १ को विराटनगर भन्सारबाट सबैभन्दा धेरै मूल्यको सामान निर्यात भएको छ । मुलुकभरबाट आर्थिक वर्षको पहिलो सात महिनामा ४७ अर्ब ६२ करोड २१ लाख ७८ हजार मूल्यबराबरको सामान निर्यात भएको छ । त्यसमध्ये विराटनगर भन्सारबाट मात्रै साढे १४ अर्ब बढीको सामान निर्यात भएको छ । जुन कुल निर्यातको ३०.५८ प्रतिशत हो । प्रदेश नम्बर १ बाट विराटनगरपछि मेची भन्सारबाट बढी सामान बाहिर जाने गरेको छ । मेची भन्सारबाट चालू आर्थिक वर्षको सात महिनामा मुलुकभरबाट निर्यात भएमध्येको ८.९१ प्रतिशत सामान निर्यात भएको छ । आयातमा पनि नेपालको वीरगन्ज भन्सारबाट सबैभन्दा बढी आयात भएको देखिएको छ । वीरगन्जबाट ३३.४७ प्रतिशत आयात हुँदा भैरहवाबाट १९.१२ प्रतिशत आयात भएको छ । आयात हुने भन्सारमध्ये विराटनगर तेस्रो नम्बरमा देखिन्छ । जहाँबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२.०५ प्रतिशत आयात भएको छ ।
सडक
प्रदेश नम्बर १ का १४ वटै जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । प्रदेश नम्बर एकमा विराटनगरको रानीदेखि इटहरी हुँदै किमाथांकासम्मको ३२४ किलोमिटरको सडक त्रिदेशीय मार्ग प्राथमिकताका साथ निर्माण तथा स्तरोन्नति भइरहेको छ । त्यस्तै यही प्रदेशको झापाको केचना हँुदै ताप्लेजुङ ओलाङचुङगोलासम्मको ४६० किलोमिटरको सडक सञ्जालसमेत चीन, नेपाल र भारतलाई जोड्ने र यस प्रदेश समृद्ध बनाउने अर्को सडक मार्ग बन्न सक्छ । पूर्वपश्चिम राजमार्गदेखि निर्माणाधीन मध्यपहाडी मार्ग, सिद्धिचरण मार्ग, धरान–धनकुटा मार्गलगायतका सडकमार्गले प्रदेश नम्बर १ का जिल्ला जोड्ने काम गरेको छ ।
विमानस्थल
प्रदेश नम्बर १ मा एक क्षेत्रीय विमानस्थलसहित १३ वटा विमानस्थल सञ्चालनमा छन् । जसमध्ये सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला सोलुखुम्बु यही प्रदेशमा छ । जहाँ ४ वटा विमानस्थल छन् । त्यस्तै खोटाङमा ३, ताप्लेजुङ, झापा, संखुवासभा, ओखलढुंगा,मोरङ र भोजपुरमा एक–एकवटा विमानस्थल छन् ।
पर्यटन
विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै प्रदेश नम्बर १ मा विश्वकै ८ हजार मिटर अग्ला ८ हिमालमध्ये पाँच नेपालमै पर्छन् । यी सबै हिमाल प्रदेश नम्बर १ मा पर्छन् । समुद्री सतहबाट विश्वकै सबैभन्दा होचो क्षेत्रसमेत नेपालकै प्रदेश नम्बर १ को झापामा पर्छ । जसलाई केचनाकवल भन्ने गरिएको छ । हिमालबाहेक प्रदेश नम्बर १ मा हलेसी, बुढासुब्बा, पाथीभरालगायत धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । ३ वटा राष्ट्रिय निकुञ्ज, साहसिक पर्यटकीय स्थल, चियाबगान, भेडेटार, मकालु, कञ्चनजंघालगायत पर्यटकीय क्षेत्र यसै प्रदेशमा पर्छन् ।
उद्योग व्यापार
प्रदेश नम्बर एकको अस्थायी मुकाम विराटनगर उद्योग बढी भएको क्षेत्र हो । प्रदेश नम्बर १ बाट भारतको कलकत्ता, चीन, भुटान र बंगलादेशसँग पारवहनको सम्भावना छ । प्रदेश नम्बर १ मा चुनढुंगा खानी प्रशस्त भएकाले सिमेन्टलगायत उद्योग कलकारखाना खोल्न सकिन्छ ।
नाका
प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरको जोगबनी नाकाबाट भारतसँगको व्यापार व्यवसाय र सामान आयात–निर्यातको क्रम चलिरहेको छ । योसँगै झापाको काकडभिट्टा नाकाबाट पनि भारतसँगको व्यापार हुने गरेको छ । यो बाहेक संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुंगोला नाकाबाट चीनसँगको व्यापार बढाउन सकिन्छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।