कांग्रेस युवा नेता गगन थापाको नयाँ अभियान
नयाँ पत्रिका काठमाडाैँ २ वैशाख | ०१ घन्टा अगाडि
कांग्रेस युवा नेता गगन थापाले ‘म बन्छु जिम्मेवार : कर्तव्यसँगै अधिकार’ नामक अभियान सुरु गरेका छन् । नयाँ वर्षको अवसर पारेर काठमाडौं ४ का प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाको यो अभियानको सुरुवात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रारम्भ गरेका छन् ।
यो वर्षभरि आफ्नो निर्वाचन क्षेत्रमा ‘हरेक महिना एक बिहान, समुदायका लागि श्रमदान’ कार्यक्रम सञ्चालन गर्ने थापाको अभियान छ । यसै अभियानअन्तर्गत शनिबार पहिलो कार्यक्रम ज्ञानेश्वरदेखि चाबहिलसम्म सरसफाइ गरिएको छ । दोस्रो कार्यक्रममा कमलपोखरीको सफाइ हुनेछ ।
सो अवसरमा संस्कृतिविद् जोशीले काठमाडौं ४ मा सुरु गरिएको अभियान मेचीदेखि महाकालीसम्मका गाउँपालिकादेखि संघीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए । प्रत्येक नागरिकलाई कर्तव्यमा जोड दिने कर्तव्यसहितको अधिकारबोध गराउने अभियानलाई सबैले मनन गर्दा देश बन्ने विश्वास व्यक्त गरे ।
सांसद थापाले नयाँ वर्षलाई कर्तव्यको वर्ष बनाउन आह्वान गर्दै वर्षभरि आफ्ना गतिविधिलाई अधिकारभन्दा कर्तव्यको दृष्टिकोणबाट हेर्न आग्रह गरे ।
‘हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई मान्दैनन्,’ उनले भने, ‘त्यसैले कर्तव्य पूरा गर्ने मात्रै अधिकारको असली हकदार हुन्छन् । अधिकारप्रति म जति सचेत रहन्छु, कर्तव्यप्रति पनि त्यति नै सचेत रहनेछु भन्ने सोच र अठोट नयाँ वर्षका अवसरमा सबैले लिनुपर्छ ।’
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।