राष्ट्रिय जनता पार्टी संसदीय दलको नेता वैशाख दोस्रो साताअगाडि चयन नहुने भएको छ । पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्रराय यादव स्वास्थ्य उपचारका लागि भारत पुगेपछि दलको नेता चयन प्रक्रिया लम्बिएको हो ।
मुटुमा पेसमेकर लगाएका दुवै नेता उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भएको पार्टी महामन्त्री केशव झाले जानकारी दिए । उनीहरू नियमित ‘फलो–अप’ उपचारका लागि ६–६ महिनामा मेदान्त अस्पताल जाने गर्छन् । यादव सोमबार र ठाकुर मंगलबार दिल्ली पुगेका थिए ।
७ वैशाखमा राजपाको पहिलो स्थापना दिवस हो । स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने र ८ वैशाखका पार्टीको राजनीतिक समितिको बैठक बस्ने तय भएको झाले जानकारी दिए । ‘७ गते पार्टी स्थापना दिवस भएकाले ६ गतेसम्म अध्यक्षमण्डलका संयोजक र सदस्य नेपाल फर्किसक्नुहुन्छ,’ झाले नयाँ पत्रिकासँग भने, ‘७ वैशाखमा स्थापना दिवसको कार्यक्रम गरेर भोलिपल्ट राजनीतिक समितिको बैठक बस्ने तय भएको छ ।’
बैठकको एजेन्डा एकता महाधिवेशन कहिले र कसरी गर्ने भन्ने रहेको झाले बताए । त्यसपछि मात्रै दलको नेता चुन्न संसदीय दलको बैठक बोलाउने तयारी केन्द्रीय कार्यालयले गरिरहेको झाको भनाइ छ । प्रतिनिधिसभामा मान्यताप्राप्त पाँच दलमध्ये राजपाबाहेकका सबै दलले नेता चुनिसकेका छन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।