प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी गंगा खत्रीलाई अहिले अग्र्यानिक उत्पादन बिक्री गर्न भ्याई नभ्याई छ ।
२०५८ सालमा सिस्नोको पाउडर उत्पादनसम्बन्धी तालिम लिएपछि व्यावसायिक रुपमा लागेर उहाँ उद्यमी बन्नुभएको हो । खेतबारी र वनजङ्गलमा खेरजाने सिस्नो टिपेर पाउडर बनाई मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने तालिममा सिप सिकेपछि उहाँसहित ११ जना सिस्नो पाउडर उत्पादनतर्फ लागेका थिए ।
संगम म्याग्दी र लघुउद्यम विकास कार्यक्रममार्फत सञ्चालित तालिममा सहभागी भएर सिप सिकेपछि खत्रीले आफू ०६३ सालसम्म सिस्नो पाउडर उत्पादनमा लागेको बताउनुभयो ।
उहाँले तालिम लिएर उद्यमी बन्नुपर्छ र स्वरोजगार हुनुपर्छ भन्ने भावना जागृत भएपछि आफू व्यावसायिक रुपमै लागेको बताउनुभएको छ । सुरुको चरणमा सिस्नोको पाउडर उत्पादनमा लागेकी उहाँले संगम तथा डिमेगाले दिएको सिपमूलक तथा मार्केटिङसम्बन्धी तालिम पाएपछि सिस्नो पाउडरको बजारीकरणतर्फ लागेको बताउनुभयो ।
उद्यमी खत्रीले सुरुसुरुमा गाउँमै पुगेर संघसंस्थाले सिस्नो पाउडर उत्पादनको बारेमा तालिम दिएको जानकारी गराउनुभएको छ । तालिम दिन भनेर गाउँमा पुगेका प्रशिक्षक सरहरुसँग सुरुमा नमस्कार गर्न र बोल्न डराउने उहाँले सिस्नोबाट पाउडर उत्पादन गरेर बिक्री गर्न सकेमा आम्दानी हुन्छ भन्ने थाहा पाएपछि समूहमा उत्पादन गरेको सिस्नो पाउडरको आफूले बिक्री वितरण गर्न थालेको बताउनुभयो ।
सिस्नो पाउडरको बिक्री वितरण तथा बजारीकरणका लागि उहाँले आफू नेपालगन्ज र काठमाडौंको भृकुटीमण्डपसम्म पुगेको स्मरण गर्नुभयो ।
गलेश्वर सिस्नो पाउडर उत्पादन समूहकी अध्यक्ष समेत रहेकी खत्री सिस्नोबाट पाउडर उत्पादन गर्न समूहका अन्य सदस्यहरुलाई लगाई आफूले बेनी झरेर बजारीकरण गरेको बताउनुभयो ।
बेनीको मंगलाघाटस्थित आफ्नै घर किनेर त्यहीँबाट सिस्नो पाउडरसहित स्थानीय उत्पादनको बिक्री वितरण सुरु गरेकी उहाँले राम्रो आम्दानी गर्दै आइरहनुभएको छ । सिस्नो पाउडरको बजारीकरणका साथै लोकल उत्पादन बेचर उहाँले महिनामै २० हजार रुपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेको जानकारी दिनुभयो । उहाँले घरमा कुटानी पिसानीका लागि विद्युत मिल पनि जडान गरी सञ्चालनमा ल्याउनुभएको छ ।
नेप्टेचौरमा उत्पादित सिस्नोको पाउडर प्याकिङ नगरेको होलसेल मुल्य तीन सयदेखि ३ सय ५० रुपैयाँसम्म मुल्य पर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी प्याकिङसहितको होलसेल चारसयबाट ४ सय ५० रुपैयाँ र फुटकर प्रति प्याकेट पाँचसय रुपैयाँदेखि माथि मुल्य पर्ने गरेको उद्यमी खत्रीको भनाई छ ।
उहाँका अनुसार समूहमार्फत उत्पादित सिस्नो म्याग्दी जिल्लासहित विभिन्न ठाउँमा पुग्ने गरेको छ भने जिल्लामा हुने विभिन्न मेला महोत्सव लगायतका कार्यक्रमहरुमा प्रदर्शनी हुँदै आएको छ । समूहमा हाल विभिन्न १६ जना महिला उद्यमीहरु आबद्ध रहेका छन् ।
हरिया सागपातमध्ये सिस्नोमा सबैभन्दा धेरै ‘भिटामिन ए’ नामक तत्व पाइन्छ । सिस्नोलाई तरकारी बनाएर खान सकिन्छ भने बिहान बेलुका खानासँगै दालमा मिसाई पकाएर समेत खान सकिन्छ । यसैगरी उमालेको एक गिलास तातोपानीमा एक चम्चा सिस्नोको धुलो मिसाएर खाएमा स्वास्थ्यलाई निकै फाइदा पुग्ने बताइएको छ । यसले विशेष गरी सुगर, जण्डिस, ग्याँस्ट्रिक, कब्जियत जस्ता रोगहरुको निको पार्न महत्वपूर्ण भूमिका खेल्ने सिस्नो प्रयोगकर्ताहरु बताउँछन् ।
म्याग्दीमा उत्पादन हुँदै आएको सिस्नोको पाउडर बेनीदेखि पोखरा, काठमाडौं, बुटवलसहित देशका ठूल्ठूला शहर बजारका साथै विदेशको जापान, अस्टेलिया लगायतका देशहरुमा पुग्ने गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।