धनवीर दाहाल, रुकुम ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ १५ गते भित्र नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने बताउनुभएको छ । पार्टी एकताको काम अन्तिम चरणमा पुगेकाले दुई पार्टीको एकता जेठ १५ भन्दा पछि नधकेलिने उहाँले बताउनुभयो ।
रुकुम पश्चिमको चौरजहारीमा आईतबार यदु स्मृति भवनको उद्घाटन तथा शालिक अनाबरण कार्यक्रममा बोल्दै नेता नेपालले दुई पार्टीको एकता श्रीमान श्रीमतीको जस्तो नहुने बताउनुभयो । “हामीले आठ महिनामै जन्म दिन खोजेका थियौं, तर परिपक्व बनाएर नौ महिनामै कम्युनिष्ट पार्टीको जन्म दिने तयारीमा छौं”, उहाँले भन्नुभयो ।
अब बन्ने दुई पार्टी एकताले सामाजिक न्याय र महिलाको पक्षमा वकालत गर्ने भएकाले कम्युनिष्ट पार्टी आम नागरिकको पक्षमा रहने नेता नेपालले बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले कम्युनिष्ट शासन व्यवस्थामा महिलाले नेतृत्व लिने अवसर पाएको र त्यो व्यवस्था पनि कम्युनिष्ट सरकारले मात्र दिन सक्ने दावी गरे ।
देशको राजनैतिक स्थायीत्व र समृद्धिका लागी दुई पार्टी बिच हुने एकताले जनतामा सकारात्मक सन्देश गएको बताउनुभयो । अहिले जनताले कम्युनिष्टलाई मन पराएकोले देशको विकास र परिवर्तन पनि कम्यनिष्ट सरकारले नै गर्ने नेता नेपालले ठोकुवा गर्नुभयो ।
यसअघि नेपाली काँग्रेसले आफ्नो सरकारको बेला देशमा चरम भष्ट्राचार गरेको आरोप लगाउनुभयो । काँग्रेसको भ्रष्ट शैलीका कारण देशमा स्थायी शान्ति र समृद्धिले पनि निकास नपाएको नेता नेपालको आरोप थियो । यदु स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमममा नेता नेपालले यदु गौतमको बाँकी सपना र अधूरा काम पुरा गर्ने जिम्मेवारी अबको कम्युनिष्टले लिने बताउनुभयो ।
यदु गौतमको हत्या गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँ जस्ता महान व्यक्तित्वले पार्टीमा अतुलनिय क्षति पुगेको नेता नेपालको भनाई थियो । अर्को एक फरक प्रसंगमा बाल्दै नेता नेपालले एक वर्षदेखी बन्द चौरजहारी विमान स्थललाई तत्काल सुचारु गर्न एमालेले नै पहल गर्ने दावी गरे । त्यसको लागि पार्टीले सबै प्रक्रिया चालिसकेको जानकारी दिनुभयो ।
नेकपा एमाले रुकुमका तत्कालिन सचिव समेत रहेका एमालेका उम्मेदवार यदु गौतमलाई २०५५ साल फाल्गुन २१ गते तत्कालिन बिद्रोही माओबादीले हत्या गरेका थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।