धनवीर दाहाल, रुकुम ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेको बताउनुभएको छ ।
दुई पार्टीको एकताले नै देशको समृद्धि र विकासमा स्थायीत्व दिन सकिने भएकाले पार्टी एकतामा जोड दिईएको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल, रुकुम र प्रेस सेन्टर नेपाल, रुकुम शाखाले सोमबार मुसिकोटमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको हो ।
“दुई पार्टी केवल मिल्नकै लागि मात्र होईन, देश र जनताको समृद्धिका लागि एकता हुन लागेको छ”, नेता नेपालले भन्नुभयो । लामो समयदेखी नेपाली जनताले शान्ति र समृद्धि चाहेकाले अबको सबै जिम्मेवारी अहिलेको कम्युनिष्ट सरकारले पुरा गर्ने नेता नेपालको भनाई थियो । देशको आमुल परिवर्तनका लागि अबको पार्टी एकताले जनतामा उर्जा थपिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अर्को एक प्रसंगमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले अब जनताको पक्षमा जनपक्षिय कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनुभयो । आगामी जेठ १५ भित्रै प्रस्तुत हुने सरकारको बजेट कार्यक्रमले आम नागरिकलाई विकास र समृद्धिमा जोड्न सकिने बताउनुभयो ।
यस्तै नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्र बिच एकताको काम अन्तिम चरणमा पुगेकाले छिट्टै पार्टी एकता हुने बताउनुभयो ।
पार्टी एकता संगै देशमा कम्युनिष्ट सरकार बलियो हुने भएकाले सरकारको नेतृत्व पनि कम्युनिष्टले लामो समय सम्म गरिरहने दावी गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको अगाडि मुलुकमा अन्य कुनै पार्टीको समते उदय नहुने दावी गर्नुभयो । नेता नेपालले रुकुमको समृद्धिका लागी रुकुमका जनप्रतिनिधिहरु पनि एक भएर लाग्नुपर्ने बताउनुभयो । एमाले बरिष्ठ नेता नेपाल आइतबार चौरजहारीमा आयोजित यदु स्मृति भवनको उद्घाटन गर्न रुकुम पुग्नुभएको थियो ।
शोमबार रुकुम पश्चिमका जनप्रतिनिधिहरु, कर्मचारी, नेता कार्यकता तथा शिक्षकहरुसँग पनि छुट्टाछुट्टै भेट गरी जनपक्षिय काम गर्न निर्देशन दिनुभयो छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।