बैतडी, बैतडीको दुर्गम तल्लोस्वराडमा विगत चार दिनदेखि जारी निःशुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।
वैशाख १५ गतेदेखि जारी एकीकृत घुम्ती शिविर मंगलबार सम्पन्न भएको हो । पञ्चेश्वर र शिवनाथमा सम्पन्न उक्त निःशुल्क घुम्ती शिविरबाट तल्लोस्वराडका दुई हजारभन्दा बढी सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित भएका सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिनुभयो ।
शिविरमार्फत ९७१ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । ८०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ८० भन्दा बढी अपांगता परिचयपत्र वितरण गरिएको बताइएको छ ।
सुख्खा फलफूल विकास केन्द्र सतबाँझले ५०० भन्दा बढी किसानलाई तरकारीको बीउबिजन वितरण गरिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ८५ वर्षसम्मका वृद्ध नागरिकले समेत नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । विभिन्न कारणले सदरमुकामसम्म पुग्न नसक्ने नागरिकका लागि शिविरको आयोजना गरिएको हो ।
दुर्गम तल्लोस्वराडमा शिविर सञ्चालनमा आएपछि त्यहाँका नागरिक खुशी भएका थिए । सम्पूर्ण सरकारी सेवा शिविरमार्फत घरदैलोमा उपलब्ध भएपछि स्थानीय नागरिक खुशी भएका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो । शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, फोटोसहितको मतदाता नामावली संकलन, अपांगता परिचयपत्रलगायतका सेवा प्रदान गरिएका थिए ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।