श्रावण ५, सेनाले देशभरिका १ सय ७७ वटा रेडियो स्टेसन र ३५ वटा टेलिभिजन च्यानलबाट सैनिक कार्यक्रम चलाइरहेको छ । सञ्चारमा यति बलियो पहुँच बनाएको सेना अब आफै अलग्गै रेडियो स्टेसनसहित मिडिया सञ्चालनमा प्रवेश गर्दैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सञ्चारमन्त्री राम कार्कीले १ पुस ०७३ मा ‘नेपाली सैनिक रेडियो’ सञ्चालनको अनुमति दिएपछि दिपायलबाट रेडियो सञ्चालन सुरु गरेको सेनाले आफ्ना ६ ओटै पृतनाबाट, एफएम स्टेसन चलाउने तयारी गरेको छ ।
सैनिक प्रवक्ता झन्कर कठायत विपतको अवस्थामा सुचना प्रदान गर्न सहज होस् भनेर रेडियो शुरुवात गर्न खोजेको दाबी गर्नुहुन्छ ।
तर सेनाको यो निर्णय र सरकारको अनुमति अहिले विवादमा तानिएको छ । रेडियो चलाउने अनुमतिसँगै राज्यको चौथो अंगको भूमिकामा समेत सेनालाई बाटो खोलिदिएको छ । सञ्चारका जानकार घमराज लुइटेल सेनाले सिद्धान्त विपरित रेडियो चलाउनुलाई स्वभाविक मान्नु हुन्न ।
उहाँले भन्नुभयो, राज्यको आफ्नै रेडियो, रेडियो नेपाल हुदाँहुदै फेरी सेनाको आफ्नै रेडियो चाहियो भन्दै रेडियो खोल्नु कति जायज हो ? भन्ने प्रश्न जटिल छ । सेनाको भूमिका राष्ट्रको सुरक्षा व्यवस्था गर्नु हुँदा, हुँदै सेनाले पत्रकारिता तर्फ पनि हात हाल्नुपर्ने उचित नभएको उहाँले बताँउनुभयो ।
लोकतान्त्रिक सरकार स्वयंले राष्ट्रिय सुरक्षाको मूल दायित्व बोकेको सेनालाई आमसञ्चार माध्यम सञ्चालन गर्न दिएर सूचना प्रवाह र नियन्त्रणजस्तो संवेदनशील भूमिकामा तानेको छ । सेनाले भने राष्ट्रिय प्रशारण ऐन २०४९ अनुसार नै अनुमति लिएको दावी गरेको छ ।
शासन व्यवस्थामा सेना हाबी भएका देशमा सेनाले सञ्चारमाध्यम सञ्चालन गरिरहेका छन् । पाकिस्तानी सेनाले ४९ वटा रेडियो स्टेसन सञ्चालन गरिरहेको छ । उत्तरकोरिया, थाइल्यान्ड र चीनमा पनि सेनाले मिडिया सञ्चालन गर्छ ।
अमेरिकाको मेरिल्याण्डमा अमेरिकन फोर्सले रेडियो पनि चलाएको छ भने, बेलायतमा सुरक्षाकर्मिहरु सम्मेलित आफ्नै रेडियो छ । तर, नेपालको सन्र्दभ फरक भएकाले रेडियो नै चलाउनु ठीक नभएको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाको तर्क छ ।
उहाँले भन्नुभयो, कतिपय देशले आफ्ना सरकारी मिडियालाई सार्वजनिक प्रसारण सेवाको रुपमा रुपान्तरण गरेका छन् । सरकारले नै रेडियो चलाए सरकारी निर्णय हावी हुने भन्दै आफुलाई सुधार गरिहेको अवस्थामा नेपालमा भने सेनाले नै रेडियो चलाउनु सरासर गलत कार्य हो ।
राज्यका तीनै अंगले काम गरे नगरेको निगरानी गरी गर्न मिडियालाई चौथो अंगका रुपमा राज्य परिभाषा गरेको छ । सरकार आफैले पनि सञ्चारमाध्यम सञ्चालन गर्दा त्यसको निष्पक्षता र तटस्थताका बारे प्रश्न उठिरहेका छ । सूचना लिने सेनाले नै सूचना दिने रेडियो चलाउदा राष्ट्रिय सुरक्षा र पत्रकारिताको बुझाईमा पर्ने असरलाई सेना र सरकारले बुझ्नुपर्ने सुरक्षा र मिडियाक्षेत्रका विज्ञहरुको सुझाव छ ।
श्रोतः सि.आइ. एन.