प्रताप बानियाँ, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबार म्याग्दी उद्योग वाणिज्य संघको गाउँपालिकास्तरीय इकाई संघ गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको उद्योगी व्यवसायीहरुको प्रारम्भिक भेलाबाट दशरथकुमार कर्माचार्यको अध्यक्षतामा ७ सदस्यीय बजार इकाई गठन गरिएको हो ।
अन्नपूर्ण गाउँपालिका बजार इकाई संघको सचिवमा सुनिता बरुवाल (गिरी), कोषाध्यक्षमा केशर हिराचन, सदस्यमा जुद्धनारायण गौचन, आत्मा तुलाचन, मिनाकुमारी ज्वारचन र राजाराम बरुवाल चयन भएका छन् । ग्रामीण क्षेत्रका उद्योगी व्यवसायीहरुको गाउँपालिकास्तरमा पेशा तथा व्यवसाय सञ्चालनका क्रममा आवश्यक भूमिका निर्वाह गर्ने उद्देश्यसहित संघ गठन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनले सबै उद्योगी व्यापारीहरु करको दायरामा आउनुपर्ने बताए । उनले स्थानीयको मागलाई ध्यानमा राखेर गाउँपालिकाले आवश्यक नीतिनियम बनाएर कार्यान्वयन गर्ने बताउँदै अन्नपूर्ण गाउँपालिकाभित्र रहेका स्रोतसाधनहरुको परिचालन गर्ने र लगानीमैत्री वातावरण निर्माण गरिने बताएका छन् ।
कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्योगी व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न तथा उद्योगी, व्यापारीहरुको पक्षमा बोल्ने संस्था म्याग्दी उद्योग वाणिज्य संघ रहेको बताए । अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य बुद्धि पुन र आत्मा तुलाचनले असल नागरिक बन्नका लागि राज्यलाई कर तिर्नुपर्ने भन्दै उद्योग वाणिज्य संघको इकाई गठनले गाउँपालिकामा रहेका उद्योगी व्यवसायीहरुलाई आफ्नो हक अधिकारका लागि लड्न सहज हुनेमा जोड दिएका थिए ।
कार्यक्रमको अवसरमा गत बैशाख ३० गते भूरुङ–तातोपानी बजार क्षेत्रमा आएको बाढीका कारण पूर्ण क्षति व्यहोरेका पीडितलाई १० हजार, आंशिकलाई ५ हजार र सामान्यलाई २ हजार रुपैयाँका दरले म्याग्दी उद्योग वाणिज्य संघमार्फत राहत उपलब्ध गराइएको थियो । ‘विकासको आधार, उद्योग र व्यापार’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कर नीतिसम्बन्धी विषयमा समेत अन्तत्र्रिmया र छलफल गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उद्योगी व्यापारीहरुले व्यवसाय सञ्चालनको लाइसेन्स लिँदा कोष तथा लेखा नियन्त्रक कार्यालयमा समस्या झेल्नुपरेको, कर तिर्ने व्यवस्था गाउँपालिकामा नै हुनुपर्ने र उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्नुपर्ने जस्ता मागहरु राखेका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता तथा स्वागत, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको समापन र सचिव सुवर्ण रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगर, संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजेश शाक्य, कार्यसमिति सदस्यद्वय यामबहादुर खड्का, भोजबहादुर रिजाल लगायतको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।