- एलिना घिसिङ
काठमाडौ । पाँचथर जिल्लाको मेमेङ १ का निश्चल राई नेपाली सांगीतिक आकाशका पछिल्ला आशलाग्दा हस्ताक्षर हुन् । बाबु बुद्धिबल राई र आमा हर्कमाया लिम्बुको कोखबाट जन्मिएका निश्चलका संगीत र स्वर पनि त्यतिकै निश्चल छन् । काठमाडौँको कुमारीगाल बस्दै आएका निश्चलले सानै उमेर देखि गीत संगीतमा रहेको मोहलाई व्यवसायिक रुपमा अगाडि बढाउन काठमाडौँ कर्मथलो बनाएका छन् ।
१४ वर्ष देखि गीत संगीतमा रम्न थालेको तर काठमाडौँमा आएपछि बैधानिकरुपमा साधना कला केन्द्र कमलादी स्थित प्रकाश गुरुङबाट ३ वर्ष गीत संगीत सिके पछि थप आत्मबल बढेको उनको भनाई छ । उनी अहिले हरेक दिन गीतसंगीत क्षेत्रमै मग्न छन् । रेडियो नेपालमा पनि गीत गाएका उनले ३० गीतमा संगीत समेत भरेको छ भने २२ वटा गीतमा स्वर दिएका छन् । उनको आगामी योजना केके छन त ? प्रस्तुत छ उनीसंग गरेको कुराकानीको मुख्य अंश
यो क्षेत्रमा प्रवेश हुनमा कस्को साथ र प्रेरणा मिल्यो ?
समय जसरी अनुकुल छन त्यसरी नै परिवर्तनशील पनि छ । म सानोमा लाहुरे बन्ने सपना पालेको थिए । चार कक्षमा पढ्दा स्वर्गीय स्वार सम्राट नारायणगोपालको जीवनी र गीतले मलाई छोयो र म यस क्षेत्र बाहेक अरु केही सोच्नै नसक्ने अवस्थामा पुगे । म यस क्षेत्रमा आउनुको मुख्य प्रेरणाको श्रोत पनि नारायणगोपाललाई नै मान्छु ।
परिवारको कोही हुनुहुन्छ यो क्षेत्रमा ?
मेरो परिवारमा त ब्यान्ड नै छन । पहिला बाबा पनि राम्रो बासुरी र मादल बादक हुनुहुन्थ्यो । दाई पनि बासुरी बादक नै हुन तर यहि पेशा भने होइन ।आमापनि यस क्षेत्रलाई मन पराउने र अलिअलि गुनगुनाउने र पछिल्लो समयमा मेरो सानो बहिनी भे केही राम्रोसंग गाउने भएकी छन् ।
बाल्यकाल कसरी वित्यो ?
बाल्यकाल एउटा बालकले जस्तै बिताए । स्कुल साथसाथै घरको कामहरुमा बाबाआमालाई सघाएर नै बित्यो । सामान्य ढंगले नै बाल्यकाल बित्यो ।
गीत र संगीत तपाईको बुझाईमा कस्तो हो जस्तो लाग्छ ?
गीत संगीत अथाह सागर हो । जहाँ जति डुबुल्की मारेका पनि गहिराई भेटिन्न ।
गीत र संगीतमध्ये कुनलाई बढी प्राथमिकता दिनुहुन्छ?
यो त यसरी छुट्याउन सकिदैन । यी दुबै एक अर्कामा समहित भएको विषय हो । म गीत र संगीत दुबैलाई निरन्तरता दिन्छु ।
यो क्षेत्रमा तपाईले आफ्नो सम्भावना भने कस्तो देख्नुभएको छ ?
संभावना देखेको भए त स्टप गरि सक्थे होला । नदेखेर नै खोजीरहेछु यहाँ के छ भनेर ।
पछिल्लो समय सांगीतिक क्षेत्रमा बाँच्न कठिन छ भन्ने सुनिन्छ नि ?
यो त सहि हो तर संघर्स गर्नु पर्छ । यसको पनि केही सम्भावना र भविष्य छ ।
अहिलेको पुस्ताले कस्तो खालको गीत संगीत रोज्ने गर्छ ?
खासै यस्तो हो भनेर त थाहापाउन सकिन्न तर चलिरहेको गीत संगीत हेर्दा बाच्ने भन्दा पनि नाच्ने अनि टिक्ने भन्दा पनि बिक्ने खालको रोजिरहेको छ जस्तो लाग्छ ।
अबको तपाईको योजना के छ ?
त्यतिठूलो योजना त खासै छैन तर पनि यहि गीत संगीतमा काम गर्ने योजना नै हो । अब फिल्मको पनि गीत गर्ने योजनामा छु ।
यहि क्षेत्रलाई अगाडि बढाउनुहुन्छ की अरु केही गर्नुहुन्छ ?
अब काम गर्नुनै यो क्षेत्रलाई अगाडि बढाउनु हो । यो बाहेक अरु क्षेत्र नै छैन जस्तो लाग्छ मलाई ।
अन्तमा आम सांगीतिक प्रेमीहरुलाई के भन्न चाहनु हुन्छ ?
गीत संगीतलाई माया गरि दिनुहोस् । गीत संगीतलाई माया गर्ने संगीतप्रेमीले पनि गीत संगीतलाई जगेर्ना गर्ने बानी बसाल्नुस् भन्न चाहन्छु ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।