पर्वत । पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् ।
हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् ।
प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुद्री सतहदेखि दुई हजार ४१५ मिटरको उचाइमा अवस्थित फलामेडाँडाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ ।
फलामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना रहेको लोप्रेका युवा पुर्खबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु ५० हजार सहयोगमा यस वर्ष ५४ मिटर ढुङ्गे सिढीसहितको पदमार्ग निर्माण भएको छ ।
पदमार्ग निर्माणका लागि लोप्रेका ६५ घरधुरीले दुई दिनका दरले श्रमदान गरेका थिए । भ्यू टावर, होटल तथा लज सञ्चालनका साथै सडकको स्तरोन्नतिका लागि गाउँपालिकामा पहल गरिएको छ ।
बेनी मल्लाज, बाँसखर्क, नाँगी, शालीजा भएर पुग्न सकिने फलामेडाँडालाई करबाकेली इको टे«क ९पर्या पदमार्ग० मा समावेश गर्न प्रस्ताव गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।