काठमाडौं । बि.सं. २०५२ सालमा फिल्म ‘जन्मभमि’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी अभिनेत्री हुन् विपना थापा । अभिनेत्री थापाले ‘अनाथ’, ‘जीवन रेखा’, ‘इन्द्रेणी’, ‘आमा’ लगायतका धेरै फिल्महरुमा काम गरिसकेकी छन्, भने पछिल्लो फिल्म ‘बरमाला’ देखि भने पर्दामा देखिएकी छैनन् । भारतीय मुलका युवकसँग बैबाहिक जीवनमा बाँधिएपछि अभिनेत्री थापा नेपाली फिल्म क्षेत्रबाट टाढा भएको समय पनि करिब एक दशक हुन लागेको छ ।
लाखौं दर्शकहरुको मन जित्न सफल अभिनेत्री थापा अहिले आफ्नो जन्मथलो नेपाल आईपुगेकी छन् । उनी नेपाल आईपुगेसँगै विभिन्न मिडियाहरुसँग जोडिरहेकी छन् भने उनको अन्र्तवार्ताहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
यसरी मिडियाहरुसँग कुराकानी गर्ने क्रममा अभिनेत्री थापाले राम्रो कथा पाएको खण्डमा फिल्ममा पुनः कमव्याक गर्ने पनि बताएकी छन् । अभिनेत्री थापाले एक युट्युव च्यानलसँग कुराकानी गर्ने क्रममा राम्रो कथा पाएमा फिल्ममा पुनः काम गर्ने बताएकी हुन् ।
अभिनेत्री थापाले आफुले भारतीय नागरिकसँग बिहे गरेपनि समय समयमा नेपाल आउजाउको काम गरिरहेकी बताउँदै भनेकी छन्, ‘यो भन्दा पहिले पनि म नेपाल आउँथे तर छोटो समयको लागि मात्र । छोरो सानो छ, त्यसैले पनि धेरै समयसम्मको लागि भने नेपाल आउन समय मिलेको थिएन । ’
तर यो पटक भने आफ्नो छोरोको भ्याकेशन लामो समयसम्मको भएकाले उनको नेपाल बसाई लामो हुने बताएकी छन् । उनले भनिन्, ‘यो पटक भने छोरोको विदा अलि लामो छ । छोरो सानै भएकाले फिल्ममा काम गर्ने चाहना हुँदा हुँदै पनि काम गर्न नसकेकी हुँ । मलाई लाग्छ आफ्नो छोरालाई माया दिनुपर्छ, समय दिनुपर्छ ।’
आफ्नो सानो छोरोका कारण फिल्ममा काम गर्न नसकेकी बताउँदे अभिनेत्री थापाले फिल्म क्षेत्रबाट कहिल्यै टाढा नहुने बताएकी छन् । उनले थपिन्, ‘पहिलो जन्म बिक्रम थापाले दिएका हुन् । दोस्रो जन्म अर्थात विपना थापा भनेर दोस्रो जन्म दर्शकहरुले दिएका हुन् । त्यसैले म मेरो दर्शकहरुलाई धेरै सम्झन्छु ।’
अभिनेत्री थापाले नेपाल आउँदा मात्र नभएर भारतकै विमानस्थलहरुमा आफुलाई अभिनेत्री भनेर चिन्ने केही दर्शकहरु भेट्ने गरेको बताएकी छन् । यसरी आफुलाई चिन्ने दर्शकहरुलाई भेट्दा निकै नेपालको दर्शकहरुको याद आउने गरेको बताउँदै उनले थपिन्, ‘फिल्म क्षेत्रबाट यती लामो समयसम्म ग्याप बस्दा पनि दर्शकहरुले मलाई चिन्दा रहेछन्, धेरै खुसी लाग्छ ।’
यसै कुराकानीको दौरानमा अभिनेत्री थापाले आफ्नो फिल्मी करियरको सुरुका दिनहरुलाई पनि सम्झिईन् । सुरुका दिनहरुमा तत्कालीन चलेका कलाकारहरु सरोज खनाल, श्रीकृष्ण श्रेष्ठ, भुवन केसी, बसुन्धरा भुषाल, दिलिप रायमाझी लगायतका कलाकारहरुसँग काम गरेको समयलाई पनि अभिनेत्री थापाले सम्झिइन् । सरोज खनालबाट आफुले धेरै कुराहरु सिकेकी बताउँदै उनले भनिन्, ‘सरोज खनालले मैले प्रेराणको स्रोत नै मान्छु, किनभने उहाँले मलाई धेरै कुरा सिकाउनु भएको छ । कसरी क्यामेरालाई फेस गर्ने ? क्यामेराको मुभमेन्टसँगै आफ्नो अनुहारलाई पनि मुभ गराउनु पर्ने रहेछ ।’
उनले सिनियरहरुसँग काम गर्दा आफ्नो कमी कमजोरीहरुलाई सुधार्ने मौका पाएको बताएकी छन् । यसै सन्दर्भमा अभिनेत्री थापाले अभिनेता दिलिप रायमाझीलाई पनि सम्झिईन् । उनले भनिन्, ‘दिलिपले धेरै भात खान्थे, अनि चुलबुले पनि उत्तिकै । जति खेर पनि चलेको चल्यै गर्ने । कहिल्यै सिरियस नहुने दिलिपको बानी थियो ।’
भारतका एक व्यापारीसँग बिहे गरेर भारतमै बस्दै आएकी अभिनेत्री थापा एक छोराको आमा भईसकेकी छन् । उनले आफुलाई मन पर्ने कथा आएको खण्डमा फिल्ममा काम गर्ने चाहना भएको पनि बताएकी छन् । साथै आफ्नो क्षेत्र नै फिल्म भएपछि सरप्राईजको रुपमा दर्शकमाझ प्रस्तुत हुने पनि बताएकी छन् । सरद राई
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।