काठमाडौं । आसुसेन फिल्मिसको व्यानरमा बन्दै गरेको चौथो फिल्म ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छन् । फिल्मकर्मी सन्तोष सेनको यसै ‘मेरी मामु’ फिल्मबाट लण्डन निवासी कुसुम गुरुङले डेब्यु गर्दै छन् ।
स्रोतका अनुसार थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको १ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् । त्यस्तै उनले सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनयसमेत गरेकी छन् । अभिनयलाई आफ्नो प्याशन मान्ने कुसुम नेपाली फिल्म क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवारसँगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छन् ।
बाल मनोविज्ञानमा बन्ने फिल्म ‘मेरी मामु’मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै आईसकेको छ । फिल्मको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेशनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ, भने अहिले काठमाडौंमा दैनिक कार्यशाला पनि चलिरहेको छ ।
यही अषाढ ३ गतेबाट छायाङकनमा जाँदै गरेको फिल्म ‘मेरी मामु’ को टिमको परिचय भने सोही दिन जानकारी गराईने निर्माण पक्षले बताएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।