पर्वत, (नेस) । पर्वतको महासिला गाउँपालिकाको होस्राङ्गदी र बालाकोटको बिचमा छ सात्लेको भीर । सात्लेको भीर छिचोलेर सडक बनाउन नसक्दा १७ किलोमिटर घुमाउरो सडक पार गरेर लुंखुबाट होस्राङ्गदी पुग्थे स्थानियबासी । तर त्यही सित्लेको अक्करे भीर छिचोलेर होस्राङ्गदीमा मोटरबाटो पुगेको छ ।
महासिला गाउँपालिकाले होस्राङ्गदी जोड्नको लागि छोटो बाटो बालकोटबाट अर्घौदी हुँदै होस्राङ्गदी सम्म ४ किलोमिटर सडक निर्माण गरेको हो । सित्लेको भीर छिचोलेर नयाँ मोटरबाटो खनिएपछि गाउँपालिका आउन होस्राङ्गदीका बासिन्दालाई १४ किलोमिटर छोटिएको छ ।
महासिला – १ को होस्राङ्गदीबाट अर्घौदी हुँदै बालाकोट बारेडाडाँ सम्म सडक निर्माण गर्न स्थानियबासीले १२ बर्ष अघि देखि प्रयास गरे पनि सफल भएका थिएनन । २०६३ सालबाट सडक खन्ने प्रयास भएपनि बल्ल सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष बिष्णुराम बिकले बताए । ‘एक दशक अघिको प्रयास बल्ल सफल भएको छ ’ उनले भने ‘सडक बनेपछि १७ किलोमिटर घुमेर हिड्ने होस्राङ्गदीका बासिन्दा अब ४ किलोमिटर मै पुग्न सक्छन’।
गाउँपालिकाको ५५ लाख रुपैयाको आर्थिक सहयोगमा सडकको ४ मिटर फराकिलो ट्रयाक खोलिएको छ । अब यसलाई पनि ७ मिटर फराकिलो बनाउने योजना गाउँपालिकाको रहेको पुर्वाधार बिकास समितिका अध्यक्ष समेत रहेका वडा नं ५ का अध्यक्ष जीवन उचै ठकुरीले बताए । ‘गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर यो सडक सम्पन्न गरेको छ ’ उनले भने ‘गाउँपालिका कार्यालय संग होस्राङ्गदीको सोझो सम्पर्क स्थापित गर्न यो सडक कोशेढुंगा बन्नेछ।’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।