विनोदसिंह विष्ट, बैतडी । आर्थिक अभावमा स्वास्थ्य उपचार गर्न बाहिर जान नसकेका नागरिकलाई गाउँमै बिषेशज्ञ डाक्टरसहित सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरवाट बैतडीमा ४ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
जिल्लाका ४ स्थानिय तहमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वदेस बैतडीका प्रसासकिय अधिकृत राधिका भट्टले जानकारी दिनुभयो । जेठ १८ गते दोगडाकेदार गाउँपालिकादेखि सुरु भएको निशुल्क स्वास्थ्य शिविर शनिवार पञ्चेश्वरमा सम्पन्न भएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविरमा दोगडाकेदारमा ९६९ जना,मेलौलीमा १ हजार ८२ जना, शिवनाथमा १ हजार २ सय ५० र पञ्चेश्वरमा १ हजार १४६ गरी ४ हजार बढी ४ सय ५९ नागरिकले सेवा लिएका हुन् ।
प्रदेश ७ को सामाजिक विकास मन्त्रालय तथा सम्वन्धित स्थानिय तहको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन भएको हो । यस्तै सामाजिक विकास तथा सचेतना समाज स्वदेश बैतडीको आयोजना, नेपालगञ्ज मेडिकल कलेज र जिल्ला स्वास्थ्य कार्यालय बैतडीको प्राविधिक सहयोग रहेको थियो । शिविरमा पाठेघर खसेका महिलाहरुको चेकजाँच, दन्त सेवा, नाक,कान घाँटी रोग सम्बन्धि सेवा जनरल फिजिसियन सेवा लगायतका सेवाहरु प्रदान भईरहेका छन् ।
स्थानियबासिन्दा खुसी
स्थानिय तहको बिषेश पहलमा निशुल्क रुपमा गाउठाँउमै स्वास्थ्य सेवा पाएपछि यहाँका नागरिक खुसी भएका छन् । आर्थिक अभावमा टाढाको अस्पताल जान नपाएकाहरुले पनि शिविरमा सेवा पाउँदा खुशी भएको दोगडाकेदार ३ श्रीकोटका मदन ओडले बताउनुभयो । बिभिन्न समस्याका बावजुत बर्षौ देखि रोग पालेर बसिरहेका बैतडीको क्षेत्र नम्बर ख का ४ वटै स्थानिय तहका नागरीकले आफ्नै गाउँठाउँमा स्वास्थ्य सेवा पाएकोले खुसि भएका र आउदा दिनमा पनि यस्ता कार्यक्रम गाउँघरमै सञ्चालन गर्ने पञ्चेश्वर गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिनुभयो ।
आफ्नो पालिकाका धेरै जसो नागरीकले शिविर बाट उपचार पाए रोग पालेर बसिरहेका बिरामीले राहत पाउन खुसीको कुरा हो उहाँले भन्नुभयो“यस्ता किसिमका कार्यक्रमलाई गाउँपालिकाले निरन्तरतादिनेछ । ” यसलाइ निरन्तरता दिइने चन्दले बताउनुभयो । स्वास्थ्य सेवाबाट बञ्चित भएका गरिबी, बिपन्न दलीत तथा महिलाहरुलाइ स्वास्थ्य सेवाको मुल प्रभाहमा ल्याउने उद्देश्यले निशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालनमा ल्याइएको स्वदेस बैतडीका प्रसासकिय अधिकृत राधिका भट्टको भनाई रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।