हेटौंडा, (नेस)
नेपालमा प्रतिवर्ष करिब ६ लाख ६० हजार शिशुको जन्म हुने गर्दछ । यीमध्ये करिब १३ हजार नवजात शिशुको जन्मिएको २८ दिनभित्र मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
नेपालमा एक वर्षका ३२ प्रतिशत शिशुको मृत्यु हुने गरेको छ भने प्रदेश–३ मा एक वर्षभित्र करिब २९ प्रतिशत मृत्युदर छ । ५ वर्षमुनिका बालमृत्यु भने नेपालमा ३९ प्रतिशत छ । प्रदेश–३ मा ३६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धि कार्यक्रम सञ्चालन गरिए पनि नवजात शिशुको मृत्युदर कम हुन सकेको छैन । नेपालमा २८ दिनभित्रमा मृत्यु हुने २१ प्रतिशत रहेको प्रदेश–३ को सामाजिक विकास मन्त्रालयको प्रारम्भिक पाश्र्वचित्रमा उल्लेख छ । जसमा प्रदेशमा १७ प्रतिशत शिशुको २८ दिनभित्र मृत्यु हुने गरेको उल्लेख छ ।
मकवानपुरको अवस्था हेर्ने हो भने वर्षेनि १५ देखि २५ शिशुको जन्मिएको २८ दिनभित्र मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३÷०७४ जन्मिएका चार हजार छ सय ५६ शिशुमध्ये २२ शिशुको मृत्यु भएको थियो ।
यस वर्ष वैशाखसम्मको तथ्यांकमा जन्मिएका दुई हजार सात सय ७८ शिशुमध्ये हालसम्म २२ शिशुको मृत्यु भइसकेको र अझ मृत्युदर बढ्न सक्ने जनस्वास्थ्य कार्यालय तथ्यांक शाखाकी कर्मचारी उर्मिला गौतमले जानकारी दिनुभयो । परिवार र सुत्केरीले गर्भवती हुँदा स्वास्थ्यमा ध्यान नदिँदा मातृमृत्यु तथा शिशुमृत्यु बढेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७३÷०७४ मा जन्मिएकामध्ये दई दिनदेखि ५९ दिनसम्ममा मृत्यु हुनेको संख्या ३ र आव २०७४÷२०७५ को हालसम्म चार पुगेको छ । आर्थिक वर्ष २०७३÷२०७४ मा शिशु जन्मिएको २९ दिनदेखि ५९ दिनसम्म १ र आव २०७४÷२०७५ को हालसम्म १ जनाको मृत्यु भएको गौतमले बताउनुभयो ।
नवजात शिशु मृत्युको केही कारणमा संक्रमण, कम तौल, चिसोले कठ्यांग्रिएर र जन्मँदा निसास्सिएर हुने गौतमले जानकारी दिनुभयो । राक्सिराङ, बागमती गाउँपालिकामा शिशु मृत्युदर बढी रहेको गौतमको भनाइ छ । जन्मबारे उचित शिक्षा नपाएका आमाबाट जन्मिएका बच्चाको मृत्यु हुने गरेको कार्यालयले जानकारी दिएको छ ।
मकवानपुरमा हालसम्म विकट ठाउँमा खानेपानी व्यवस्था राम्रो नभएको, गरिबी र अशिक्षाले मृत्यु निम्त्याउने गरेको गौतमले बताउनुभयो । सुत्केरी हुने वातावरण अत्यन्त दुषित हुँदा संक्रमण र जन्मँदा कम तौलका कारण नवजात शिशुको मृत्यु हुने गरेको छ । ‘जनचेतना कमीले हालसम्ममा शिशु मृत्युदर घट्न सकेको छैन,’ गौतमले गुनासो गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।