हेटौंडा,(नेस)
काठमाडौं–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकलाई स्थायी बाटो कायम गर्ने अनुमति दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले सडकलाई स्थायी बाटो कायम गर्न अनुमति दिएको हो ।
यसअघि उक्त सडकखण्डबाट अस्थायीरुपमा सवारी सञ्चालनमा थिए । केही निजी सवारीमात्र सञ्चालनमा आउँथे । उक्त बाटो चलेपछि सिस्नेरीको बाटो भएर भने कम सवारी साधन चल्ने भएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीलगायतका सरोकारवालाले उक्त बाटोलाई स्थायी सडक कायम गरी भाडादर निर्धारण गर्न निवेदन दिएका थिए । उक्त निवेदनउपर विभागले जेठ १८ गते बाटोलाई स्थायी कायम गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।
विभागले यातायात व्यवस्था कार्यालयले साना, ठूला सवारी बागमती तथा इन्द्रसरोवर गाउँपालिकाको कुलेखानी र जीप सञ्चालन तथा समन्वय समिति काठमाडौंलाई वोधार्थ पठाउँदै निर्णयको जानकारी गराएको छ ।
विभागको निर्णयअनुसार फर्पिङ–दक्षिणकाली–कुलेखानी २९ किमी सडक र काठमाडौं–फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडकबीच ६ किलोमिटर अन्तर देखिएको र सवारीसमेत निर्वाधरुपमा सञ्चालनमा रहेको भन्दै अनुमति दिएको हो । काठमाडौं–फर्पिङ–दक्षिणकाली–कुलेखानी सडकखण्डको भाडादरबमोजिम नै उक्त सडकको भाडादर कायम गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।