नेपाल समाचारपत्र, काभ्रे
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न स्थानमा प्रहरीको सहयोग र समाजमा हुने घटनाका विषयमा टोलटोलमा अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।
प्रहरी प्रधान कार्यालयले देशभर आयोजना गरेको कार्यक्रम अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा गरिने कार्यक्रमका बारेमा जिल्ला प्रहरी कार्यालय काभ्रेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रहरी प्रवक्ता डिएस्पी महेन्द्र मरासिनीले जिल्ला मातहत रहेका भिडभाड हुने स्थानहरुमा अन्र्तक्रिया गर्ने निर्णय गरेको जानकारी दिए । धुलिखेल बसपार्क, बनेपा बसपार्क, पनौती बसपार्क र अन्य चोक चोकमा पर्चा, पम्पलेट बितरण गर्ने, प्रचार प्रसार गर्ने, माईकिङ गर्ने, असार १० देखि १५ गते सम्म जिल्लाको वडा वडा एरियामा पर्ने स्कुल तथा कलेजहरुमा गई ट्राफिक नियम, घरेलु हिंसा, मानव वेचबिखन तथा ओसार पसार, लागु औषध, धुम्रपान, मद्यपान, सामाजिक अपराध, साईबर अपराध तथा बालबिबाह रोकथाम जस्ता बिषयमा स्कुल तथा कलेज सम्पर्क कार्यक्रम संचालन हुनेछ ।
त्यस्तै असार १५ देखि २५ गते सम्म काभ्रे जिल्लाभर रहेका प्रहरी ईकाहरुले आ–आफ्नो वडा एरियाहरुमा घर दैलो कार्यक्रम गर्ने, सुझाव र सल्लाह आदान प्रदान, गस्ती तथा बस्ती भेटघाट कार्यक्रम, दूर्घटना तथा प्रकोप उद्धार ब्यवस्थापन बिषयमा अन्तरकृया तथा छलफल कार्यक्रम हुनेछ । असारको अन्तिममा २५ गते देखि सार्वजनिक महत्व बोकेका मठ मन्दिर र सार्वजनिक स्थानहरुको सरसफाई कार्यक्रम गरी यो टोल टोलमा प्रहरी अभियानको समापन हुनेछ । प्रहरीले यस भन्दा अगाडी अभियानको रुपमा चलाउँदै आएको सामुदायिक प्रहरी, मुस्कान सहितको प्रहरी सेवा, महानगरीय स्वंयम सेवक प्रहरी सेवा , प्रहरी मेरो साथी, नागरिक सुनुवाई जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको थियो । समुदायमा प्रहरीको उपस्थिती, कानुनी तथा सैद्धान्तिक आधारमा रही जनताको जिउधनको सुरक्षा गर्नु प्रमुख उदेश्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।
सामुदायिक प्रहरी सेवालाई समय सापेक्ष सबलिकरण र सुदृढिकरण गर्ने उदेश्यले मुस्कान सहितको प्रहरी सेवा, महानगरीय स्वंयम सेवक प्रहरी सेवा, प्रहरी मेरो साथी, नागरिक सुनुवाई जस्ता कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ । समुदाय र प्रहरी दुबै पारदर्शी, सामाज प्रति उत्तरदायी, नैतिकवान र जिम्मेवारी बोधले गर्दा भ्रष्टचारमा कमी, बोली ब्यवहार र आचारणमा सकारात्मक परिवर्तन आएको हुनाले सामुदायिक प्रहरी सेवालाई अझ प्रभावकारी रुपबाट अगाडी बढाउन टोल टोलमा प्रहरी अभियान कार्यक्रम संचालन गर्ने भन्ने कार्य योजनालाई लागु गर्न टोल टोलमा प्रहरी अभियान कार्यक्रम संचालन गर्न लागिएको प्रहरी प्रमुख खड्काले बताए ।
भयरहित, शान्तिपूर्ण र सुरक्षित सामाजको स्थापना गर्ने, सामुदायिक प्रहरी सेवाको माध्यमबाट समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, जनता र प्रहरी बिचको दुरी कम गरी बिश्वास अभिबृद्धि गर्ने, जनताको घरदैलोमा पुगी प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान गर्नु नै टोल टोलमा प्रहरी हाम्रो अभियान कार्यक्रमको लक्ष्य र उदेश्य रहेको उनले बताए । कार्य योजनालाई अझ परिमार्जित र परिस्कृत गर्ने योजनामा सबैको साथ र सहयोगको अपेक्षा गरेको प्रमुख खड्काले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।