दुई ढुंगाको तरुलजस्तै ठुला दुई औद्योगीक जिल्ला चितवन र रुपन्देहीको बिचमा रहेको नवलपरासी जिल्लामा औद्योगीक विकासले गती लिन थालेको छ । ठुला साना गरी ५ हजारको हाराहारीमा उद्योग सञ्चालनमा रहेको यसजिल्लामा महिलाको नेतृत्वमा महिलाकै व्यवस्थापनमा सञ्चालीत उद्योग २५ प्रतीशत मात्रै छन् । यस्तोमा एकल महिलाले सञ्चालन गरेको उद्योग त छँदै छैन् । पहिलोपटक जिल्लामा गैँडाकोट नगरपालीकामा रहेका एकल महिलाहरु संगठीत बनेर तयारी पोशाक उद्योग सञ्चालन गरेका छन् ।
–लक्ष्मी पौडेल
“मसंगै पढेकाले क्याम्पसमा पढाउछन् । उनीहरु प्राध्यापक हुन् म एउटा मजदुर हुँ उद्योगमा काम गर्ने, सम्मान नहोला मेरो काममा मलाई सन्तुष्टी दिने कमाई छ ।”
गिता पराजुलीः उद्यमी
कावासोतीकी ३४ बर्षीय गिता पराजुलीलाई भाषाविज्ञानमा स्नातकोत्तर गर्दासम्म गार्मेन्टमा काम गरौला भन्ने लागेको थिएन । स्नातकोत्तरको अन्तीम परिक्षापछि सिप सिक्नुभएकी पराजुलीलाई सिप सिकेर सकिसक्दा पढाईअनुसार जागीरले दिने सन्तुष्टीभन्दा उद्योगको कमाई राम्रो लाग्यो । यसै त एक्लो जिवन आर्थीक रुपमा बलियो हुनु गिताका लागी आवश्यकता थियो ।
गिताको ३ बर्षको मेहनेतले अहिले राम्रो प्रतीफल दिएको छ । “३ बर्ष भयो यसरी गर्न थालेको, सुरुका बर्षमा काम गरीसक्दा एक बर्ष भएपछि हिसाव निकाले ३ लाख कमाएछु । त्यतीबेला भर्खर सिक्दै गर्दै थिए । दोस्रो बर्ष त ७ लाख आम्दानी गरे यो बर्ष म १० लाख बढी आम्दानी गर्छु आशा छ ।” काम गर्दाका दुख सम्झीदै गिताले भन्नुभयो, “सुन्नेलाई अचम्म लाग्ला मेरो कमाई कुरा तर ३ सय ६५ दिनमा मैले कपाल कोर्ने ३० दिन मात्रै हो । जोतीनुपर्छ काममा त्यसै सजिलो त हुँदैन् नै ।”
आफ्नै साथीहरु सम्झीदै उहाँले पढेलेखेको जागीरमा ईज्जत सम्मान र हाई हाई भएपनी आफुलाई आर्थीक रुपमा तयारी पोशाक उद्योगमा बगाएको पसिनाले नै बलीयो बनाएको बताउनुभयो ।
“घरतिर त म छँदैछैन् । माईतीको भर पनि परेकी छैन् । पढेलेखेकै दाजुभाई छन् । क्याम्पस पढाउछन् उनीहरुको महिनामा आउने तलब र मेरो कमाई हेर्ने हो भने म नै धेरै कमाउछु ।” गिताले गार्मेन्ट उद्योगमा काम सुरु गरेपछी समाजमा आफुलाई हेला गरीने गरेको तितो यथार्थ सुनाउनुभयो । “ गार्मेन्टको काम भुईमा बसेर कपडा काट्ने र सिलाउने हो, देख्नेले छि भन्छन् । पढेर यस्तो काम गर्ने भन्छन् । अरुका कुरा सुन्नभन्दा भनेर म कती समय त बाहिर नै निस्कीन चुप लागेर उद्योगमा काम गर्ने कोठामा बस्ने खाने, काम गर्ने म पछिल्लो दुई बर्ष बाहिर निस्कीन नै भन्दा हुन्छ । निस्कदा पनि म मुख छोपेर निस्कन्थे ।”
उद्योगमा भर्खर सिप सिक्दै गरेकी रुपादेवी शर्मालाई विहे गरेको केही बर्षमा नै श्रीमानले चटक्कै छाडेपछी काखकी छोरी हुर्काउन लाई आफुले गर्दै आएको सिलाई कटाईले पुगेन । २८ बर्षमा नै आफन्त र परिवारबाट टाढीनुपरेपछि शर्माको सहारा पनि यही व्यवसाय बनेको छ । “कोठा भाडामा लिएर गरेको सिलाई कटाईले त कोठा भाडा तिनै ठिक्क हुन्थ्यो । त्यसैले यसै दुख उसै दुख छोरीलाई हुर्काउन पैसा कमाउनै पर्छ भनेर आएँ । सिक्दा नै कमाई कसरी हुने रहेछ भन्ने बुझेकी छु । यही काम गरेर नै दिन गुर्जानु छ । अरु के गर्नु मैले ।” उहाँले भन्नुभयो ।
३ छोराछोरीकी आमा मिना गुरुङको सपना छ सहाराविहिन बनेका सडक बालबालीकाका लागी केही काम गर्ने । एक त अन्तरजातीय विवाह, त्यसमाथी समाज र परिवारको असहयोग, श्रीमान हुँदासम्म छोराछोरी पाल्न सह भएपनी गएको आठ महिनादेखी उहाँकै काँधमा जिम्वेवारी आएको छ ।
मिना गुरुङः उद्यमी
“श्रीमानको सपना थियो, सडकमा बाउआमा नभएकालाई थोरै भएनी पढाईदिने बिचैमा कालले लयो मैले यही गार्मेन्टले केही कमाई भयो भने खोल्छु एउटा सानोतिनो बोर्डस् केटाकेटी सरकारी स्कुल पढाईछु त्यती खर्च नहोला नी ।” गहभरी आसु पार्दै उहाँले भन्नुभयो ।
नारीकल्याण एकल महिला पैरवी मञ्च गैँडाकोटको सञ्चालनमा एकल नारीकल्याण उद्योग केन्द्र सुरु गरीएको हो । हाल १० महिलालाई तालीम दिएर १२ लाखको लगानीमा सुरु भएको उद्योगको एकल र विपन्न ५० महिलालाई तालीम दिएर गैँडाकोटमा व्यवसायीक महिला तयार गर्ने उदेश्य छ । संस्थाकी अध्यक्ष लक्ष्मी भट्टराईका अनुसार उद्योग सञ्चालनका लागी गैँडाकोट नगरपालीकाले ३ लाख बढी सहयोग गरेको छ । हाल भवन भाडामा लिएर सुरु गरीएको उद्योगमा विभिन्न किसिमबाट एकल भएका विपन्न परिवारका १० महिलाले सिप सिकिरहेका छन् । ति महिलालाई गिता पराजुलीले तालीम दिईरहनुभएको छ । अहिले छिटफुट उत्पादन सुरु गरेको उद्योगले २ महिनापछि व्यवसायीक रुपमा उत्पादन सुरु हुनेछ । २ महिना पछि अर्को १० जनाको टिम तयार गरी सिप सिकाईलाई भने निरन्तरता दिईने अध्यक्ष भट्टराईले बताउनुभयो । ५० व्यवसायीक महिला उत्पादन गरी उद्योगलाई वृहत बनाउन सरकारी तबरबाट जग्गा वा आर्थीक सहयोगको आशामा संस्था रहेको छ ।
एकल महिलाहरुले सञ्चालन गरेको उद्योग छैनः घरेलु तथा साना उद्योग कार्यालय
नवलपरासीमा हालसम्म एकल महिलाहरुको नेतृत्वमा कुनै पनि उद्योग सञ्चालनमा रहेको तथ्यांक छैन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख उद्योग अधिकृत नन्दलाल पौडेलले महिलाहरुले एकल रुपमा छिटफुट उद्योगको काम थालेपछी सामुहीक रुपमा एकल महिलाहरुको उद्योग हालसम्म दर्ता नभएको बताउनुभयो । सरकारले महिलाले सञ्चालन गर्ने उद्योगमा प्रोत्साहनको व्यवस्था पनी गरेको छ । तर व्यवस्थाबारे अनविज्ञ हुँदा र न्युनतम मापदण्ड पुरा नगर्दा त्यो अवसरबाट जिल्लाका उद्यमी बञ्चीत छन् । उद्योग दर्ता गर्दा पनि महिलाको नाममा दर्ता गरे ३५ प्रतीशत सम्म छुटको व्यवस्था रहेको तर लागु नभईसकेको कार्यालयले जनाएको छ ।
प्रमुख उद्योग अधिकृत पौडेलले, ५ लाख बराबरको मेसीन औजार प्रयोग हुने, २० किलोवाट बिजुली खपत हुने, उद्यमी समेत गरी ९ जना संलग्न र बार्षीक ५० लाखको कारोबार हुने उद्योगलाई निशुल्क दर्ताको व्यवस्था रहेको बताउनुभयो । उहाँले उद्योग मन्त्रालयबाट महिला उद्यमशिलता विकास कोषमार्फत १ लाखदेखी ५ लाखसम्म ऋणको व्यवस्था गरेको र त्यसका लागी सुचना जारी भएको अबधीमा घरेलु उद्योग कार्यालयमार्फत दर्ताको प्रमाणपत्र, आवश्यक कागजात पेश गरी ऋण पाउन सकिने बताउनुभयो । यसरी लिएको ऋण महिलाहरुले तिन बर्ष भित्र ५ प्रतीशत ब्याज तिर्नेगरी सम्झौता हुन्छ ।
सरकारले उद्यमीलाई औजारमा अनुदानको व्यवस्था गरेको छ । नवलपरासीमा गत आर्थीक बर्ष २०७३÷७४ मा ८० प्रतीशत अनुदान २० प्रतीशत लगानीमा २५ जनालाई २५ लाख बराबरको अनुदान आएको भएपनी तर न्युनतम मापदण्ड पुरा गरेका १५ जनाले मात्रै यो सुविधा लिएका छन् । हालसम्म जिल्लामा एकल महिलाहरुले सामुहीक रुपमा उद्योग सञ्चालन नगरेको हुँदा सरकारी सहायताका लागी एकल महिला भएको खुलाई आवेदन दिए मन्त्रालयबाटै प्राप्त हुने सुविधाका लागी सिफारिस गर्न सकिने कार्यालयका प्रमुख उद्योग अधिकृत नन्दलाल पौडेलले बताउनुभयो ।