भक्तपुर,(नेस) । भक्तपुरको चाँगुनारयणमा संचालित नेपाल इन्जिनियरिङ्ग कलेज जोगाउन माग गर्दै कलेजका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ गरेका छन् । कलेज सञ्चालक समिति अध्यक्ष लम्वोदर न्यौपानेले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र सामुदायिक संस्थाका रुपमा रहेको कलेज समेत बिक्री गर्न लागेको भन्दै कलेज जोगाउन माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराऊ गरेका हुन् ।
प्रशासन घेराउपछि भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै दुई अर्ब भन्दा वढीको चल अचल सम्पत्ति हडप्ने अध्यक्ष लम्वोदरको प्रयासलाई असफल बनाउन, कलेज जोगाइदिन र लम्बोदरलाई कारबाही गर्न माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
शिक्षकका तर्फबाट सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीको तर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयुक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगेको उल्लेख गरिएको छ ।
वर्षौदेखि लम्बोदर बिरुद्ध आन्दोलन छेडेका शिक्षक, कर्मचारी र विद्यार्थीको माग र विगतका सहमतिलाई प्रमुख जिल्ला अधिकारीहरुले बेवास्ता गर्दै आएको र वर्तमान प्रजिअ भट्टले समेत बेवास्ता गरेको भन्दै लम्बोदरको प्रभावमा प्रजिअहरु पर्ने गरेको आन्दोलनरत समूहले आरोप लगाएका छन् ।
सामाजिक संस्था ऐन अनुसार गैरनाफामूलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्षमा नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् ।सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि बनाई बेच्ने पक्षमा छन् सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे र शलिल भट्टराई नाफा नलिने पक्षमा छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।