चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाही गर्दै पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लागेको बताएका छन् ।
सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेश स्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्रका अन्तरघातीलाई कारवाही गरि छाड्ने चेतावनी दिए । उनले पार्टी एक हुनुको विकल्प नरहेको भन्दै काँग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाउन आफू लागि परेको बताए ।
उनले भने,–“अन्तरघातीलाई कारवाही गर्ने, पार्टीलाई एक गराउने, सबै भन्दा ठूलो एक नम्बरको पार्टी बनाएरै छोड्ने मेरो अभियान हो, म कुनै हालतमा छोड्दिन ।” सभापति देउवाले अन्तरघातले अब पार्टी नचल्ने भन्दै पार्टी एक हुनुको उपाय नभएको बताए । “अन्तरघात मुक्त पार्टी बनाउनु छ, पार्टीलाई एक गर्नुछ,” सभापति देउवाले भने “उता दुई वटा पार्टी एक जस्तै भईसके, हाम्रो एउटा पार्टी दुई वटा जस्तो छ, अनि कहाँ हुन्छ, पार्टी एक नबनाईकन पार्टी चल्दैन ।”
सभापति देउवाले प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेस एक्लै लडेकाले धेरै स्थानमा पराजित हुनु परेको बताए । उनले पार्टी हार्नुको अर्को कारण अन्तरघात रहेको दाबी गरे । “दुईवटा पार्टी एक भएर लड्दा, काँग्रेस एक्लै लडेको हो, म ग्यारेन्टीका साथ भन्छु २५ सिट हाम्रो अन्तरघातले घटेको हो”–देउवाले भने ।
कार्यक्रममा काँग्रेस सहामन्त्री डा.प्रकाश शरण महत, नेपाल दलित संघका संस्थापक अध्यक्ष मानबहादुर विक, काँग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, डा.डिला संग्रौला, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारीलगायतले पार्टी भित्रको अन्तरघातको विषयमा जोडदार कुुरा उठाएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।