नेपाल समाचारपत्र, काठमाडौं । जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ । टोलीमा सरकारी भन्दा नीजि क्षेत्र र गैरसरकारी क्षेत्रका प्रतिनिधीको संख्या बाक्लो छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार २८ जना अफिसियल टोलीमा सामेल छन भने त्यस बाहेक अन्य सबै नीजि क्षेत्र र विभिन्न संघ÷संस्थाको प्रतिनिधित्व गर्दै चीन जाँदैछन् । भ्रमण टोली १ सय १० जना भन्दा बढीको हुने बताइएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ सहित चार जना मन्त्री चीन प्रस्थान गर्दै हुनुहुन्छ । त्यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र नेकपाका नेता तथा विदेश मामिला विज्ञ डा.राजन भट्टराई पनि टोलीमा संलग्न हुनुहुन्छ ।
मुख्य सचिव लोकदर्शन रेग्मी सहित विभिन्न मन्त्रालयका सचिव र विभिन्न दलका सांसद, उद्योगी, व्यवसायीको ठूलो टोली पनि भ्रमण टोलीमा अटाएको छ । आफ्नो अघिल्लो कार्यकालमा नीजि हवाई कम्पनी हिमालयन एयर मार्फत चीन पुग्नु भएका प्रधानमन्त्री ओली यस पटक पनि सोही एयरलाइन्सबाट चीन पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको टोली मंगलबार विहान ९ बजे चीन प्रस्थान गर्ने ओलीका प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।