
काभ्रे (नेस)
अत्याधुनिक प्रविधि सहितको साढे पाँच तल्लाको रक्तसञ्चार सेवा केन्द्र निर्माण हुने भएको छ । बनेपा नगरपालिकाले उपलब्ध गराएको जग्गामा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले उक्त भवन निर्माण कार्य शुभारम्भ गरेको हो ।
बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले भवन शुभारम्भको शिल्यान्यास गर्दै समयै सम्पन्न गरी रक्तसेवा सूचारु गर्न शुभकामना दिए । रगत दान गरी जीवन दान गर्ने महान पुण्य काममा नगरबासीहरुको तर्फबाट उचित सहयोग पु¥याउने बताउँदै रगत दान र सेवामा हुने कार्यमा सबैको सहयोग रहने विश्वास ब्यक्त गरे । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले निर्माण गरेका रोड म्याप अन्र्तगत रक्तसञ्चार सेवा केन्द्र पनि भएकाले नागरिकहरुले रगत नपाएर अकालमा जीवन खेर पाल्नु नपरोस् भनेर नगरपालिकाले विशेष सहयोग उपलब्ध गराएको बताईन । नगरपालिकाले सडक, फोहोरमैला ब्यवस्थापन, शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण विषयको खाका कोरेर अगाडी बढिरहेको उपप्रमुख सापकोटाले बताईन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय कोषाध्यक्ष देबेन्द्र प्रधान, ब्लड बैकका निर्देशक डा. मनिता राजकर्णिकार, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल रेडक्रस सोसाईटीका पूर्व सभापति श्याम श्रेष्ठ, १ सय ६३औ पटक रक्तदान गर्ने जिल्लाबासी अर्जुन पराजुली, शिर मेमोरियल अस्पताल बनेपाका प्रमुख डेल एम मोले, वडा अध्यक्ष वर्ण शाक्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा रेडक्रस काभ्रेका सभापति रघुवर चौ प्रधानले समयमै भवन निर्माण सम्पन्न गरी नागरिकहरुलाई सेवा दिने प्रतिवद्धता ब्यक्त गरे । भवन निर्माणका लागि भेनिस रेडक्रसले ७० लाख रुपैया सहयोग गरेको छ भने अन्य रकम स्थानीय सरकार, सहकारी, नागरिक समाज तथा विभिन्न क्षेत्रबाट सहयोग संकलन गर्नै सभापति प्रधानले बताए ।
जिल्लामा २ लाख शेयर सदस्य भएकाले सहकारीबाट २ करोड रकम संकलन गर्ने नीति लिईएको छ । ८० हजार विद्यार्थीबाट ८० लाख संकलन गर्ने, स्थानीय सरकारबाट समेत गरी भवन निर्माण कार्य सम्पन्न गर्ने योजना बनाईएको सभापति प्रधानले बताए । साढे पाँच तल्ला भवनको भुई तल्लामा ब्यवसाइिक पार्किङ्ग, पहिलो तल्लामा ब्यवसायीक प्रयोजनका सटर, दोश्रो तल्लामा रक्तसञ्चार बैक, तेश्रो तल्लामा प्रशासनिक कार्य, चौथो तल्लामा तालिम हल र पाँचौ तल्लामा रेस्टुरेन्ट राख्ने गरी डिजाईन गरिएको सभापति प्रधानले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।