काठमाडौं, (नेस)। होटल अन्नपूर्णमा क्यासिनो सञ्चालन गर्दै आएको एटलान्टिक समूह सर्वोच्च अदालत पुगेको छ । सर्वोच्च अदालतले न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सबै पुराना कर्मचारीलाई पुनर्वहाली गर्न आदेश दिएपछि उनीहरुलाई काममा फर्काउन नसक्ने जिकिर गर्दै सो समुहले आइतबार सर्वोच्चमा मुद्दा दायर गरेको हो । सर्वोच्चको आदेशपछि कर्मचारीहरु आफूलाई काममा फर्काउनुपर्ने मागसहित होटल अन्नपूर्ण पुगेका थिए ।
एटलान्टिकले पुराना कम्पनीले राखेका कर्मचारीको आर्थिक दायित्व आफ्नो नहुने भन्दै यसअघि जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गरेको छ । दरबारमार्ग स्थित होटल अन्नपूर्णमा रहेको क्यासिनो अन्ना बन्द भएपछि एटलान्टिक समूहले प्यालेस नामक नयाँ क्यासिनो सञ्चालन गर्दै आएको छ ।
मजदुर र क्यासिनो सञ्चालक समूहको मुद्दालाई मंगलबार पेसी तोकिए पनि हेर्न नभ्याएपछि अर्को साताका लागि पेसी सारिएको छ । मजदुरहरुले क्यासिनो अन्नाबाट करिब ३३ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।