पर्वत, (नेस)
मोदी गाउँपालिका क्षेत्रभित्र आगामी आर्थिक वर्षदेखि गर्भवती र सुत्केरी महिलाको घरमै पुगेर नियमित स्वास्थ्य जाँचको सेवा दिइने भएको छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन सरोकारवालासहितको छलफलमा गर्भवती र सुत्केरीको सेवामा बढी जिम्मेवार हुने निर्णय भएको हो ।
गाउँपालिका अध्यक्ष प्रेम पौडेलका अनुसार हरेक वडाका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तथ्यांक संकलन गराइनेछ । ‘स्वास्थ्य संस्थामा पहिलोपटक जाँच्न आएकाको निगरानी हुन्छ,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यकर्मीले घरमै पुगेर नियमित परीक्षण गर्छन् ।’
संस्थागत सुत्केरी संख्या बढाउन गाउँपालिकाले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर निर्माण गर्न पहल गरिने बताए । भेलाले आगामी वर्ष संस्थागत सुत्केरी संख्या कम्तीमा ८० र्पुयाउन पहल गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य संयोजक उमेशकुमार अधिकारीका अनुसार मोदीका ८ वटै वडाको रेकर्डमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या ४० को हाराहारी मात्रै छ ।
नियमित गर्भ जाँच र सुरक्षित प्रसूति सेवाको ग्यारेन्टीका लागि आवश्यक परे सहुलियत र सुविधासमेत बढाउने योजना छ ।
‘तत्कालका लागि कार्ययोजना बनाउन मात्रै १ लाख बजेटको व्यवस्था छ,’ प्रवक्ता एवं मोदी–६ का अध्यक्ष विमल लामिछानेले भने, ‘कार्ययोजनाबमोजिम काम सुरु भएपछि मागअनुसारको बजेट गाउँपालिकाले दिन्छ ।’ त्यसका लागि गाउँपालिकाले पूरक कोषको व्यवस्था गर्नेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।