उत्तम नेपाल, भद्रपुर
स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कागजमा मात्र सीमित राखेको पाइएको छ । झापाको भद्रपुर नगरपालिका अन्र्तगत रहेका १० वटा वडामध्ये पछिल्लो पटक घोषणा गरिएको वडा नम्बर ९ मा चर्पीनै नबनाई घोषणा गरेपछि उनिहरुको कागजी घोषणा बाहिर आएको हो ।
साविक चन्द्रगढी गाविस हाल भद्रपुर ९ का अधिकाँस घरमा चर्पी नबनाएको पाइएको छ । आर्थिक अवस्था दयनिय भएको घर होस वा सक्षम दुवै बासिन्दाको घरमा चर्पी पाइएको छैन । केही वस्तीमा गरेको अनुगमनमा रिङ् ल्याएर राखेको पेना नदिएको, कसैलाई पेना दिएको वनाउने खर्च नदिएको पाइएको छ ,भने कुनै वस्तीमा तीन घरको एउटै चर्पी भएको समेत फेला परेको छ ।
त्यसैगरि वस्तीमा बारम्बार वडाअध्यक्षलाई फोन गर्दा नगरपालिकाको साधन खाली छैन आफैले साधन लिएर सामान लैजाने सम्मका गुनासाहरु बाहिर आएका छन् ।‘ रिङ् त पाएँ तर टिना र ग्याँस पाइप नपाएका कारण चर्पी अधुरै रहेको लुक्की हस्ता बताउँछिन् ।’ पेनासहितको टङ्की भएकाले भरपर्दो नहुने उनले बताइन् ।
प्रत्येक घरमा चर्पी हुनु पर्नेमा एउटै चर्पीमा तीन घरको भएकोले घोषणाको कुनै औचित्य नरहेको घनश्याम रेग्मी बताउँछन् । हालसम्म जनप्रतिनिधिहरु चर्पी बनाउ भन्दै नआएको उनले बताए । हचुवाको भरमा कागजी घोषणा भएको उनले आरोप लगाए । स्थानीय दोर्जे बास्केको घरमा रिङ् बाहिरै अलपत्र अवस्थामा फेला परेको पाइएको छ ।
चर्पी बनाउन थालेमा भरे खाने सामान नहुने भएकोले घरका मान्छे सवै काममा गएको छिमेकीले जानकारी दिए । अर्का हर्क बहादुर विश्वकर्मा भने नजिकै रहेको हडिया खोलामा दिसा गर्ने गरेको बताउँछन् । ‘बनिबुतो नगरे मुखमा माड लाग्दैन ,सडकमा ल्याएर तीनवटा रिङ् फालिदिएका छन् ।’
चर्पीको लागि बारम्बार वडाअध्यक्षलाई जानकारी गराउदा सुनुवाइ नभएको देउनारायण पराजुलीले गुनासो गरे । वडा अध्यक्षले रिङ्मा पानी हाल्न जानु भनेपछि दुइदिनसम्म घरदेखि टाढा बनाउदै गरेको रिङ्मा पानी हाल्न गएको उनले सुनाए ।
वडा सर्भेक्षण गर्दा एक सय असी घर धुरीमा चर्पी नभएको पाइएकोले आर्थिक अवस्था कमजोर भएकालाई सिमेन्ट,रिङ् वनाउने फर्मा दिए पनि बेचेर खाइदिने गरेकोले चर्पी निर्माण गराउन धेरै समस्या भएको वडा नम्बर ९ का वडा सदस्य नेत्रप्रसाद पौडेलले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।