म्याग्दी (नेस) म्याग्दीको सदरमुकाम बेनीबजारबाट प्रहरीले गाँजासहित दुईजना युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–८ कालीपुल बसपार्कबाट कालिपुलका १८ वर्षीय म्याक्सी राम्जाली र अस्पतालचोक बस्ने २६ वर्षीय गणेश पाईजालाई ३ सय ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीले शंकास्पद रुपमा हिँडडुल गरिरहेका राम्जाली र पाईजालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा राम्जालीले पछाडि बोकेका कालो लेदरको व्यागबाट डाँठसहित गाँजा फेला परेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिए । गाँजासहित नियन्त्रणमा लिएका युवामाथि थप अनुसन्धान भैरहेको उनले बताए ।
प्रहरीले केही दिन अगाडि मालिका गाउँपालिकाको रुमबाट चरेससहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले जिल्लामा लागूपदार्थ दुव्र्यसनी विरुद्धको अभियानलाई तिब्रता दिएको छ । सदरमुकाम बेनीमा लागूपर्दाथ दुव्र्यसनी तथा ओसापोसारमा संलग्नलाई नियन्त्रणमा लिनका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रनाउ बुढामगरको भनाई छ ।
जिल्लाको खेतबारी, भीरपाखा र विभिन्न स्थानमा उम्रिएका गाँजालाई नष्ट गर्नुका सट्टा बिक्री वितरण गर्ने गरिएको पाइएको छ । प्रहरीले व्यवसायिक रुपमा गाँजा खेती गर्नेको खोजीकार्य भैरहेको समेत जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।