हाम्रो देश नेपालमा हिमाल, पहाड र तराईहरूमा जताततै पर्यटकीय क्षेत्रहरू छन् । सरकार नीति बनाउन जति खप्पिस छ, कार्यान्वयनमा बेवास्ता गर्न पनि त्यतिकै चतुर छ । हरेक क्षेत्रलाई भागवण्डामा सीमित गरिएको छ । भागवण्डाको कारण देशका हरेक निकाय पंगु बनेका छन् । सुयोग्य नागरीक अपहेलित भएका छन् । जनताले थुनामा रहोस् भन्ने चाहाना राखिएका ज्यानमारा छाडिन्छन् । सरकारको हर पक्षको कटु आलोचना गर्ने प्रतिपक्ष, सरकारको चाकडी गरेर– नैतिक पतन देखिने, फौजदारी अभियोगमा पुर्पक्ष थुनामा रहेको सांसद पदको निलम्बन नहुने– नियमावली प्रतिनिधि सभाबाट पारित गरिन्छ । कस्तो विडम्बना ! यहाँ म लमजुङको घलेगाउँको यात्रा–संस्मरण पस्कने जमर्को गरिरहेको छु । धेरै अगाडिदेखि लमजुङको कहोला–सोंथर भन्ने ठाउँमा पुग्ने मेरो भित्री इच्छा थियो । यही क्होला–सोंथर भन्ने ठाउँ हो जहाँ गुरुङ (तमू) हरूले आजभन्दा करिब १५०० वर्ष अघि सुव्यवस्थित राज्यको स्थापना गरेका थिए । तर त्यस ठाउँमा हाल जान नसकिने अवस्था भएको जानकारीपछि मित्र हरिओम गुरुङ (घोताने) को सक्रियतामा घले गाउँ जाने अनुकूल मिल्यो । २०७५ जेष्ठ १९ गते शनिवार बिहान ६ बजे – हरिओम गुरुङ, वनमाली निराकार, रामबहादुर श्रेष्ठ, विजयनारायण श्रेष्ठ तथा पंक्तिकार विजय सागर समेत गुरुजी रामबहादुर थापाको बा. ५ अ २०९९ स्कारपियो गाडीबाट झमझम पानी पर्दा पर्दै गुडियो । कोही प्रेसरका, कोही सुगरका, कोही मुटुका स्थायी मित्रहरू भएकाले ठीक ७ बजे दाउन्नेमा नास्ता खान रोकियौं । चिया, सेल र एक एक ओटा अण्डाको नास्तापछि आ–आफ्ना मानो अर्थात औषधी खाएर हामी फेरि गुड्यौं ।
एकपल्ट पुग्नु पर्ने घलेगाउँ
करिब ८ बजेतिर नवलपरासी पत्थरखोलाको पुलनेर पुग्दा प्रकृतिको अनुपम दृष्य देखियो । पुलको आधा भाग पश्चिम पानी परिरहेको छ । पुलको आधाभाग पूर्व घाम लागि रहेछ । हामी प्रकृतिका कुरा गर्दै घुइँकीनै रह्यौं । हामी मुग्लिन (चितवन) पुगेर पोखरा जाने पुल तरेर पारि तनहूँ पट्टि रहेको पुरानो मस्र्याङ्दी फ्रेस फिस रेष्टुरेण्ट, मुग्लिनमा रोकियौं । यसबेला विहानको १०ः३० बजेको थियो । हामी ६ जना रेष्टुराँ भित्र पस्यौं । माछाको झोलको वासनाले भोक झनै बढेको अनुभूति ग¥यौं । रेष्टुराँको ठूलो हलभित्र मस्र्याङ्दी नदीको छेउतिर दुईजोडी युवाहरू अत्यन्त मस्तिकासाथ गफ गरिरहेका थिए । युवाहरू भन्दा युवतीहरू स्मार्ट देखिन्थे । माथिल्लो भागको आधाआधी सहजै देखिने कुर्ता पहिरेका युवतीहरू वायाँ हातमा चुरोट र दायाँ हातमा बियरका गिलास लिएर चुरोट र वियरका चुस्कीहरू लिंदै कोठा भरिनै धूवाँ गुल्जार गरिरहेका थिए । वात ! वात ! पिच्छे बियरको गिलास टुबुलमा राखेर जोडीहरू एक आपसमा हात पड्काउन व्यस्त थिए । आँखा, कान अलि चुस्त रहेका युवतीहरू चञ्चल युवाहरूका पक्कै केटी साथीहरू थिए । मोजमस्तीको लागि नै घुमफिरमा निस्केका होलान् जस्ता थिए । चुरोटको धवाँले हामी ती रमाइला जोडी भएका कक्षमा टिक्न सकेनौ । माथिल्लो तलामा उक्लियौं । बनाउन लागिएको नयाँ पुल तथा पुरानो पुलहरूको तस्विर खिच्यौं । हामी हामी बसेर फोटो लियौं । मस्र्याङ्दीको किनार सटेर बनेका घर र होटेलहरूको जगको बारे कुराकानी ग¥यौं । माछाको झोल, घिउसहित थपेर खाना खायौं । खानाको २५०।– का दरले हुने रकम आर्थिक कमाण्डर वनमालीले तिरे र मीठो खानाको निम्ति धन्यवाद दिंदै रेष्टुराँबाट बाहिरियौं ।
त्यसपछि हामी डुम्रे–पौंडी (लमजुङ) प्रवेशद्वार हुँदै दिनको १ बजे बेँसी सहर पुग्यौं । बेँसी सहरबाट पश्चिम उत्तर हुँदै उकालो उकालो बाटो गुड्यौं । पानी पर्ला पर्ला जस्तो वातावरण थियो । गाडी फोरह्वीलको नभएको कारण पानी नपरे हुन्थ्यो भन्ने चाहना हामी सबैको मनमा थियो । बाग्लुङ पानीको स्कुल (प्रा.वि.) नेरको सानो चउरमा गुरुङ ड्रेसमा युवतीहरूको संयुक्त नाँच चलिरहेको थियो । सुटिङ रहेछ । फिल्मको सुटिङ हो कि गीतको ? हामी रोकिएर चासो लिने समय थिएन । पानीको आव्रmमण भई हाल्यो भने हामी घलेगाउँ पुग्न सक्दैनथ्यौं । त्यसैले गीत सुन्दै नाच हेर्ने मन हुँदा हुँदै पनि हामी उकालो उकालो गुड्यौ । कतै साँगुरो, कतै भर्खरै ढुङ्गा विच्छ्याउँदै गरेको, कतै पानी पानी बहिरहेको कालो, रातो माटोका उकाली हुँदै हामी ३ः५५ मा घलेगाउँ पुग्यौं । हाम्रो हृदय प्रफुल्ल भयो । “घलेगाउँमा स्वागत छ” लेखिएको ठूलो गेट भएर हामीभित्र पस्यौं । पर्यटन व्यवस्थापन समिति घलेगाउँको होमस्टे सम्पर्क कार्यालयका दीर्घ घलेसँग हाम्रो सम्पर्क भयो । ६ जना एकै घरमा बस्ने व्यवस्थाको लागि हाम्रो अनुरोध अनुरूप उनले हामीलाई पूर्णबहादुर गुरुङको होमस्टे नं.९ को घरमा व्यवस्था गरिदिए । हामीलाई होमस्टे अफिसबाट पूर्णबहादुरको घर उनकै छोरा ओम गुरुङले लिएर गए । होमस्टेमा पुग्नासाथ लेकको चिसो पानीले हात मुख धोयौं । थाकेका थियौं । भोकाएका थियौं । घलेगाउँमै उत्पादन गरिएको चियापत्तीको कालो चिया, हरिओम, वनमाली र विजय नारायणले ब्यागमा बोकेका बिस्कुट र नमकिनसँग खायौं । कालो चिया पनि त्यति स्वादिलो हुँदो रहेछ मैले पहिलो पल्ट अनुभव गरें । एकछिन थकाई मारेपछि हामीलाई पूर्णबहादुर गुरुङ (लामिछाने) ले सार्क भिलेज पर्यटन सङ्ग्राहलय (घलेगाउँ म्यूजियम), पर्यटन सभागृह, चिहान डाँडा, पोजाकों क्वोई बाँधी गुम्बा, उत्तर कन्या मन्दिर तथा फुटवल ग्राउण्ड घुमाए ।
सार्क भिलेज पर्यटन सङ्ग्राहलय : घले राजाहरूका पुराना हात हतियारदेखि लिएर घरमा प्रयोग हुने हर प्रकारका सामानहरू सङ्ग्रहित गरिएका छन् । यो सङ्ग्राहलय वि.सं. २०७३ माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा समुद्घाटन गरिएको थियो ।
पर्यटन सभागृह : वि.सं. २०५७/५८ मा निर्माण भएको यो सभागृह घलेगाउँको शोभा हो । यहाँ करिब १०० जना अतिथिहरू अटाउन सक्ने व्यवस्था छ । सभागृह यथोचित व्यवस्थापन सहित सुरक्षित राखिएको छ ।
पोजोकों क्वोइ वाँधी गुम्बा : यो गुम्बा १६ जातका गुरुङहरूद्वारा बनाइएको भनी हामीलाई पूर्णबहादुर गुरुङले जानकारी दिए । ४ जाते गुरुङहरू जान्छन् कि जाँदैनन् भनी प्रश्न गर्दा यहाँ ४ जात र १६ जातको भेद छैन । हामी सबै जातका गुरुङहरू गुम्बामा जान्छौ भन्ने जानकारी उनले दिए ।
उत्तर कन्या मन्दिर : हाम्रो पुरानो शैली अर्थात प्यागोडा स्टाइलको एकतले मन्दिर छ । मन्दिर भित्र मूर्ति छैन । पानी छ । कहिलेदेखि यहाँ पूजा गर्ने चलन चल्यो पूर्णबहादुरलाई जानकारी छैन । उनले जानेदेखि नै यहाँ पूजा चलि रहेको छ । तर गुरुङहरू वोन धर्म मान्ने समयमा प्रकृतिको पूजा गर्ने परम्परा अनुरूप उत्तर कन्या देवीको पूजा गर्ने चलन चलाइएको हुनु पर्छ । मन्दिरको स्थापना गरिएको हुनु पर्छ ।
सात कुवा : हाल घलेगाउँमा प्रत्येक घरमा आधुनिक धाराहरू जडान भएका छन् । तर पहिला पहिला गाउँका वासिन्दाहरूले यही कुवाको पानी प्रयोग गर्थे ।
फुटबल ग्राउण्ड : घलेगाउँमा ठीक्कको फुटबल ग्राउण्ड बनाइएको छ । पहिला धेरै पहिला देखि नै फराकिलो चउरमा रहेको यस फुटबल ग्राउण्डलाई ३/४ वर्ष अघि डोजर लगाएर आधुनिक रूपमा तयार पारिएको हो । यहाँ फुटबलको प्रतियोगितात्मक कार्यक्रम गरिन्छ । त्यसबेला ७/८ जिल्लाबाट फुटबल खेलमा भाग लिन आउने गरेको जानकारी पूर्णबहादुर दिन्छन् । साथै फुटबल ग्राउण्डले हेलिप्याडको कार्य पनि गर्ने गरेको छ ।
गोर्खा (गोर्षा) पार्कः २०७५ जेष्ठ २० आइतवार बिहान ६ बजे ढुङ्गाको सिंढी चढेर केही माथि पुगेपछि गोर्खा पार्कबाट हिमाल, घलेगाउँ तथा वरपरका अन्य गाउँका लोभलाग्दा दृष्यहरू देखिन्छन् । दृष्यावलोकनको निम्ति भ्यू टावर बनाइएको छ । यो भ्यू टावर वि.सं. २०६८ सालमा बनाइएको हो भनी दीर्घ घले जानकारी दिन्छन् । साथै एन.टी.सी.को टावर पनि खडा गरिएको छ । आकाश सफा भएको समय भ्यू टावरबाट हिमालको दृष्य अत्यन्तै राम्रो देखिन्छ । तर बिहान घाम झलमल लागे पनि हिमालमा बादल मण्डारिएको हुँदा हामीले राम्रासँगै हिमालको दृष्य देख्न पाएनौ ।
घले पार्क : कुइम्ले अर्थात घलेगाउँको सानो इतिहास यो पार्कमा पाइन्छ । चौकुने पोखरी आकारको पार्क । पार्कको बीचमा स्तम्भ खडा गरी स्तम्भ माथि घलेगाउँका अन्तिम राजा क्याल पोरूजुको शालिक राखिएको छ ।
स्तम्भमा दुईटा शिलालेख छन् –
शिलालेख नं. १. शालिकको ठीक तल म्रु काल्पोराजाल्के
(पोचाकों कोइम्लीको अन्तिम राजा)
वंशावली अनुसार घले जातिको पुर्खा चेडेल्के नम्रुचुख्याल्साका राजा थिए । कालान्तरमा यिनका सन्तानहरू क्होल, ख्होल (क्होल) र पोचाकों कोइम्ली हालको घलेगाउँका राजा भए । घलेगाउँको पहिलो राजा थोयकुइच्यु र अन्तिम राजा क्याल पोरुजु हुन् । गुरुङ भाषामा घलेगाउँलाई कोइम्ली, घलेलाई ल्के, राजालाई म्रु र राज्यलाई ख्याल्सा भनिन्छ ।
शिलालेख नं. २. स्तम्भको सबभन्दा तल्लो भागमा :
उत्तर कन्या–१, घलेगाउँ हाल संयुक्त राज्य अमेरिकामा बस्ने श्री आश घले र श्रीमती तीर्थमाया घले (रिल्देल्के) को सौजन्यबाट प्राप्त शालिकलाई गैर आवासिय नेपालीका अध्यक्ष श्री शेष घले (रिल्देल्के) की आमा श्रीमती देवीकुमारी घलेबाट अनावरण कार्य सुसम्पन्न भयो । अनावरण मिति २०७२ जेष्ठ महिना २७ गते रोज ४ शुभम – यसरी घलेगाउँको सानो इतिहास लेखिएको यो पार्कको आफ्नै ऐतिहासिकता छ । पानी जमाएर पोखरी बनाउन खोजिए पनि पानी जम्मा हुन नसकेको प्रष्ट छ । यस कारण प्राविधिकहरूको सल्लाह लिई पोखरीको पिंढ र कम्तीमा ४ फुट उचाईसम्म छड हाली सिमेण्टले ढालिएका पोखरी बन्नेमा शंका छैन । यस तर्पm विचार पु¥याउनु उचित हुन्छ ।
घले राजाको दरबार : घले पार्कको ठीकसँगै वायाँतिर एउटा थुम्को छ । त्यही थुम्कोमा घले राजाहरूको दरबार थियो भनिन्छ । हाल दरबारको भग्नावशेष पनि देखिदैनन् – ओम गुरुङ जानकारी दिन्छन् ।
घलेगाउँ : काठमाडौंबाट २०५ कि.मी. उत्तर पश्चिम र लमजुङ जिल्लाको सदरमुकाम वेँसीशहरबाट २८ कि.मी. उत्तर पश्चिम २१०० मिटरको उँचाईमा रहेको सानो सुरम्य ऐतिहासिक गाउँ हो । यहाँ ८० घर गुरुङ र ४० घर विश्वकर्माका छन् । अत्यन्तै सुरम्य यो सानो गाउँमा डाँडाको काछ र खोंचलाई सम्याएर बनाइएको फुटबल ग्राउण्डले अझ शोभा थपि दिएको छ । यहाँ होमस्टे अफिसमा रहेको लिष्टमा २८ वटा होमस्टेका नामहरू भए पनि पछि २ वटा थपिएर ३० वटा भएका छन् । ३० वटा होमस्टेमा एकै रातमा करिब १३० जना पाहुनाहरूको सत्कार गर्न सकिने व्यवस्था छ । हामी घलेगाउँ पुग्दा विजुली थिएन । विहान उठ्दा पनि विजुली थिएन । यस्तो ऐतिहासिक सुरम्य गाउँ जहाँ कल कारखाना केही छैनन् त्यहाँ लोडसेडिङ हुनु राम्रो हैन । सरकारले ध्यान दिनु जरूरी छ । एन.टी.सी.को टावर भए पनि ल्याण्ड लाईन फोनको व्यवस्था छैन । उदेक लाग्दो कुरा छ । घले गाउँमा – सादा खानाको रु. १५०।– र मासु सहितको खानाको रु. २५०।– रहेछ । सफा ओढ्ने ओछ्याउने भएको ठीक्कको खाट – एकरातको १५०।– रहेछ । चिया, नास्ता सबै होमस्टेमा व्यवस्थित । खाना, चिया, नास्ता र सुताईको सबै हिसाब होमस्टे अफिसमा बुझाउनु पर्ने । अत्यन्त पारदर्शी तरिकाले हिसाब व्यवस्थित गरिएको । यस प्रकारको हिसाब हरेक संघ संस्था, स्थानीय निकाय तथा सरकारले राख्न सके देश स्वर्ग बन्न नसक्ने भन्ने छैन । साथै पाहुनाहरूका निजी फरमाइसमा गरिने खर्च होमस्टेमा बुझाउन नपर्ने रहेछ । घलेगाउँमा पुगेपछि साँझ गुरुङ संस्कृति अनुरूप नाच गान हेर्न मन लाग्यो भने त्यहाँ रहेको साँस्कृतिक समितिलाई होमस्टे मार्पmत अनुरोध गरिएमा साँस्कृति समितिले सोरठी नाच र बाह्रमासे घाटु नाचको व्यवस्था गरिने रहेछ । शुल्क रु. ३,५००।– । यस शुल्क मध्ये २०५ होमस्टे अफिसलाई बुझाउनु पर्ने रहेछ । गुरुङ गाउँ भए पनि रोधिंघर छैन । रोधिंघर गुरुङ जातिको पौराणीक एवं ऐतिहासिक साँस्कृतिक धरोहर हो । घलेगाउँमा रोधिंघर हुनु पर्ने अनिवार्यता छ । यसमा घलेगाउँ सभाले विचार गर्नु पर्दछ । घलेगाउँमा ढुङ्गाले छाएका स–साना बाटाहरू अत्यन्तै राम्रा लोभलाग्दा छन् । तर बेँसी शहरदेखि बन्दै गरेको घलेगाउँ जाने २८ कि.मी. उकालो बाटो साँघुरो छ । बेँसी शहर – भुजुङ हरित मार्ग नामकरण गरिएको यो बाटो अफ्ठेरा ढुङ्गे र कालो, रातो माटोका पहाडी भेक हुँदा चौडाई सानो गरिएको हुनु पर्दछ । बाटो अत्यन्तै तदारूकताका साथ बन्दैछ । बेँसी शहरदेखि घलेगाउँ २८ कि.मी. र घलेगाउँदेखि भुजुङ ८ कि.मी. पर्दछ । यो बाटो बेँसी शहर नगरपालिका र क्होला सोंथर गाउँपालिकाको संयुक्त अभियानमा बनिरहेको छ । हाल २१ करोड रूपैयाँ नेपाल सरकारबाट निकासा भएको होमस्टेका दीर्घ घले बताउँछन् । हाल बनिरहेको सडकको अवस्थामा घलेगाउँ वर्षाको समय भन्दा हिउँदको समयमा जानु उचित हुन्छ । घलेगाउँ जाँदा गर्मी सिजनमा पनि एउटा सानो पातलो ज्याकेट लिएर जान विर्सन हुँदैन । साँझ खाना खाएर सबै जम्मा भएको समयमा होमस्टेका मित्र पूर्णबहादुर गुरुङसँग गुरुङ जातिबारे केही जिज्ञासा राखें । उनले घले गाउँमा चार जात र सो¥ह जातको कुनै भेद नभएका विहावारी राम्रैसँग चलिरहेको बताए । उनी चारजाते लामिछाने थरका रहेछन् । कुरै कुरामा उनले हाँसेर भने – हामी त पृथ्वीनारायण शाहका खलक हौं । म आश्चर्यमा परें । मैले गुरुङ जातिको इतिहास पढेको छु । मैले हाँस्दै गुरुङ जातिको सानो इतिहास सहित भने – वंशावली अनुसार तपाइँ लामिछानेहरू राजकुमार लोचनका साथ लागेर जङ्गल जाने बलि लामिछाने (राजपुरोहित मुकुन्द लामिछानेका छोरा) का सन्तान हुनुहुन्छ । राजकुमार लोचनका दुई छोरीहरूको विवाह बलि छामिछानेका दुई छोराहरूसँग र बलि लामिछानेका तीन छोरीहरूको विवाह राजकुमार लोचनका तीन छोराहरूसँग भएको हो । त्यसैले तपाइँ पृथ्वीनारायण शाहको सन्तान हुनुहुन्न । उनी हाँसे मात्रै जवाफ दिएनन् । नेपालमा जात र थर फेर्ने प्रचलन नयाँ होइन उदाहरणको लागि – नेवार कसाहीबाट – शाही, मगर रानाबाट – राणा, मधेसका तेली साहबाट – शाह हामी हरिओम गुरुङ, वनमाली निराकार, रामबहादुर श्रेष्ठ, विजयनारायण श्रेष्ठ, विजय सागर र रामबहादुर थापा सहित ६ जना घले गाउँमा अत्यन्तै स्नेह र सम्मानका साथ रात विताएर २०७५ जेष्ठ २० गते आइतवार विहान ५ः४५ मा होमस्टेका मित्र पूर्णबहादुर गुरुङ – उनकी धर्मपत्नी, छोरा ओम गुरुङ र नातिनीबाट विदाईका टीका र फुलमाला लाएर विदा भयौं । ६ः४५ बजे हामीले घलेगाउँ छाड्यौं । बाटाभरि प्रकृतिले भरिपूर्ण स्नेह र उदारताले भरिएको पारदर्शी घलेगाउँको चर्चा गरिरह्यौं र छिटो भन्दा छिटो बाटो बनेर घलेगाउँ सबै नेपालीहरूको पहुँचको नजिक होस भन्ने कामना गर्दै बाटोमा पर्ने तनहूँ जिल्लाको साबिक सदरमुकाम बन्दिपुर बिहान १०ः३० बजे पुग्यौं । साबिक नगरपालिका हाल गाउँपालिका बनेको । बन्दिपुरमा एक रात विताएर हामी नवलपरासीको स्वस्तिक धाममा रमायौं । यही रमाइलो व्रmममै हामी दिउँसो १२ः४५ मा भैरहवा आइपुग्यौं ।