जिब्रोमा सेतो पत्र जम्मा भएमा जिब्रो फोहोर भएको छ भन्ने बुझ्नुपर्छ। जिब्रो फोहोर भएमा श्वास गनाउने, स्वाद थाहा नहुने, शब्द राम्रो संग उच्चारण नहुने लगायत समस्या देखिन्छन। घरमै पनि जिब्रो सफा गर्न सकिन्छा
टंग क्लिनर: बजारमा धातु र प्लास्टिकको टंग क्लिनर पाइन्छ। ब्रस गरिसकेपछि टंग क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ।
नुन: जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ। किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ। जिब्रोमा अलिकति नुन छरेर तुथब्रसले केहि बेर रगड्ने। सातामा दुइ पटक यसो गरे जिब्रो ब्याक्टेरिया रहित हुन्छ।
नुनपानी: मनतातो पानीमा नुन हालेर सातामा दुइ पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन।
दहि: खानासंग दहि खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसंगै श्वास पनि शुद्ध हुन्छ।
नरिवलको तेल: बिहान ब्रस गर्नुअधि नरिवलको तेल मुखमा हालेर केहि समयसम्म कुल्ला गर्नुपर्छ। त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ। हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ।
घ्यु कुमारीको जुस: घ्यु कुमारीको जुसमा जिब्रो र मुखमा रहेको ब्याक्टेरिया हटाउने गुण हुन्छ। एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ।
बेसार: बेसारमा पनि ब्याक्टेरियानाशक तत्त्व हुन्छ। त्यसले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ। आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गर्ने। यो पेस्ट केहि बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले पनि जिब्रो सफा हुन्छ।
डा.प्रकाश भँडेल
डेण्टल सर्जन
लुम्बिनी अञ्चल अस्पताल