हेटौंडा (नेस) ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गैरकानुनीरुपमा अश्लील भिडियो डाउनलोड गरी बिक्री गर्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।
यसले समाजमा उच्छृंखल गतिविधि तथा जबर्जस्ती करणीलगायत महिलाहिंसाका अपराध बढिरहेको भन्दै प्रहरीले हेटौंडामा विशेष अभियान सञ्चालन गरेको हो । प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोली मंगलबारदेखि हेटौंडामा सक्रिय भएको छ ।
मोबाइल पसलहरुबाट प्रमाणसहित ७ जनालाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ५ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रनि थापाले बताए ।
हेटौंडा–१० स्थित बसपार्कमा रहेको नासर कम्युनिकेसन पसलबाट मोनिटर १ थान, सीपीयु, स्पिकर र मल्टिप्लग १ थान, सन्धि मोबाइल पसलबाट मोनिटर १ थान, सीपीयु १ थान, किबोर्ड १ थान, मल्टिप्लग १ थान, उज्ज्वल म्युजिक भिडियोबाट एण्ड मोबाइल सेन्टरबाट मोनिटर, सीपीयु, स्पिकर, किबोर्ड, मल्टिप्लग र प्रकाश मोबाइल सपबाट ल्यापटप १ थान, एसएमएस मोबाइल पसलबाट मोनिटर १ थान, सीपीयु १ थान, चन्द्र म्युजिक एण्ड मोबाइल सेन्टरबाट हार्डडिस्क १ थान र नेपाल ट्रेडर्स मोबाइल सेन्टरबाट ल्यापटप १ थान नियन्त्रणमा लिइएको छ ।
आजभोलि किशोरकिशोरीले नियमितरुपमा अश्लील भिडियो र तस्बीर हेर्ने कुलतमा फसेको पाइन्छ । नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक अध्ययनले खुलासा गरेको हो । अश्लील भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताले बताएका हुन् ।
अश्लील भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिविधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निष्कासन हुने र दिमाग असाध्य असंवेदनशील हुने अध्ययनले जनाएको छ ।
उच्चयौन अनुभूति गर्न दिमागलाई अझ बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझ बढी अश्लील हेर्न उत्प्रेरित गर्ने अनुसन्धानकर्ताले बताएका छन् । सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमितरुपमा अश्लील भिडियो हेर्नेमा यौन उत्तेजनाा निस्क्रियता आएको देखाइएको थियो ।
दिमाग फिल्मका संवेदनशील तस्बीहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेस खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ,’ अध्ययनमा भनिएको छ ।
दिमागको एउटा भाग (खैरो र सेतो) अभिप्रेरणा प्रक्रियामा सम्बन्धित हुन्छ । जति मानिसले पोर्न हेर्छ, त्यति यो भागको आकार घट्ने अध्ययनमा उल्लेख छ । नियमित अश्लील भिडियो हेर्ने र त्यसबाट हुने सम्भावित हानिको सम्बन्धबारे सम्भवतः वैज्ञानिकहरुले पहिलोपटक अध्ययन गरेका हुन् । उनीहरुका अनुसार अश्लील भिडियो हेरेर अधिकांश समय बिताउने मानिस निश्चित प्रकारको दिमाग लिएर जन्मिने गरेका छन् ।
सम्मान, उत्प्रेरणा र खुसीको प्रक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरा सेवनकर्ताको उत्तेजित अंशजस्तै भएको अध्ययनमा जनाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।