काठमाडौं, (नेस)
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले समयसीमाभित्र बनाइसक्नुपर्ने कानुन बनाइने प्रतिबद्धता जनाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शेरबहादुर तामाङले असोज ३ गतेसम्ममा संविधान कार्यान्यवनका लागि धेरै कानुनहरु बनाउनुपर्ने भए पनि मन्त्रालयका कारण कानुन निर्माणमा ढिलाइ नहुने बताउनुभयो । मन्त्री तामाङले कुनै पनि मन्त्रालयले असार अन्तिमसम्म पनि विधेयक नबनाए कानुन मन्त्रालयले सक्रियता लिने प्रस्ट पार्नुभयो ।
संविधानको कार्यावन्यनका लागि १ सय १० कानुन बन्नुपर्नेमा ७३ वटा बनिसकेको र २५ भन्दा बढी विधेयकको अन्तिम ड्राफ्ट भएर मन्त्रिपरिषद् पठाउन लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री तामाङको कार्यकाल १ सय दिन पुगेको उपलक्ष्यमा अहिलेसम्म भएका प्रगतिबारे जानकारी दिन आयोजित कार्यक्रममा सचिव राजिव गौतमले कानुनको अभावमा काम हुन सकेन भन्ने गुनासो नआओस् भनेर प्रदेश तहलाई पनि कानुनको मस्यौदा पठाइएको जानकारी दिनुभयो । असोज ३ गतेसम्म मौलिक हक कार्यान्वयन गरिसक्ने संविधानको लक्ष्य भएकाले कानुनलाई संशोधन गर्नेसँगै बनाउने काम पनि भइरहेको प्रवक्ता रमेश ढकालले जनाउनुभयो ।
मन्त्री तामाङले सरकारी पद धारण गरेका सबैले अनिवार्य रुपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन बन्दै गरेको बताउनुभयो । ‘केही नेपाल कानुन संशोधन गरेर अनिवार्य रुपमा सम्पत्ति बुझाउने कानुन बन्ने छ’, मनत्रीले भन्नुभयो– ‘संविधानसँग बाझिएका कानुनलाई संशोधन र परिमार्जन गर्दै जाने छौं, सबैले न्याय पाउन सकोस् भन्ने सरकारको मान्यता छ ।’ संविधान बनेपछि ८४ वटा पारित भइसकेको मनत्रालयले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।