
हेटौंडा,(नेस) । दैनिक सयौं गाडी गुड्ने नारायणघाट–मुग्लिन सडकखण्डमा पछिल्लो अवस्था अब मोबाइल एसएमएसबाट प्राप्त गर्न सकिने भएको छ ।
पछिल्लो समय निरन्तर पहिरो खस्नाले सडक अवरुद्ध हुँदै आएको तथ्यलाई मनन् गरेर यात्रा गर्दै गरेका यात्रुलाई समस्या नहोस् भनी यस्तो व्यवस्था मिलाइएको हो । मुग्लिनको बाटो खुले÷नखुलेबारे अनविज्ञ रहेका यात्रु एवम् सर्वसाधारणलाई मध्यनजर गर्दै मोबाइल एसएमएस सेवा ल्याइएको हो ।
मुग्लिनको बाटो खुले÷नखुलेको जानकारी लिन सेवाग्राहीले मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाइप गरी ३४८४८ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणघाट–मुग्लिन सडकबाट दिनमा सयौं सवारीसाधन गुड्ने गर्दछन् । ३६ किलोमिटर लामो उक्त सडकखण्डले तराईको पूर्वपश्चिम र पहाडको पृथ्वी राजमार्गलाई जोड्दछ । तर, थालिएको सडकको स्तरोन्नति काम अझै सकिएको छैन ।
नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत् मुग्लिनदेखि जलवीरेको पहाडी खण्डमा जाने पहिरोले सवारी आवागमनमा असर पार्ने गरेको छ । वर्षायाममा पहिरोका कारण यात्रुले निकै सास्ती भोगिसकेका छन् । सो अवस्थामा तत्काल सुधार हुने सम्भावना नरहेको देखिएकोले एसएमएस सुविधा ल्याइएको आँकलन गरिएको छ ।
नारायणघाट–मुग्लिन सडक २०३६ सालमा चिनियाँ सहयोगमा निर्माण भएको गोरखा–नारायणघाट सडकको एक खण्ड हो । उक्त सडक सुधार आयोजनामा करिब ३ अर्ब खर्च हुँदैछ । आयोजनाको लक्ष्य नारायणघाट–मुग्लिन सडकको ३३ किलोमिटर खण्ड स्तरोन्नति गरी एसियाली मापदण्डको बनाउनु भनिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।