नेपाल समाचारपत्र, हेटौंडा
समयमै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको लहर चलेको बेला सडक निर्माणको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई हेटौंडामा स्थानीय निकायले कारबाही माग गरेको छ ।
हेटौंडा–६ वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा यसबारे पत्राचार गरेको हो । वडा कार्यालयले सडक बोर्डअन्तर्गत् प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौंडा
–६, चौघडादेखि रंगशालासम्म कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई कारबाहीका लागि प्रशासनलाई पत्राचार गरेको हो ।
आव २०७३÷०७४ को बजेटअनुसार ठेक्का लिएको सुभेच्छा निर्माण सेवाले काम नगरेको भन्दै कारबाहीका लागि पत्राचार गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बताउनुभयो ।
२०७४ वैशाखअघि भएको सम्झौता समाप्त भएर २०७५ असार मसान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो । तर, असार सकिनै लाग्दा पनि व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो काम सम्पन्न गराउन आवश्यक प्रक्रिया अघि बढाउन प्रशासनलाई पत्राचार गरिएको छ ।
सुभेच्छाद्वारा सडक बोर्ड र नगरपालिकाबाट लगानी गर्ने गरी सम्झौता भएको अन्य क्षेत्रका कामसमेत भुक्तानी रोकी आवश्यक कारबाही अघि बढाउन प्रशासनलाई आग्रह गरिएको छ । यसबारे उपमहानगरपालिका कार्यालयलाई पनि जानकारी दिइएको वडा अध्यक्ष चौलागार्इंले बताउनुभयो ।
सडक कालोपत्रेको काम अघि बढाउन पटकपटक पहल गर्दा निर्माण व्यवसायी सम्पर्कमा नआएको पत्रमा उल्लेख छ । पत्र प्राप्त भएपछि निर्माण पक्षलाई प्रशासनले असार २० गतेभित्र काम सम्पन्न गर्न अल्टिमेटमसहित निर्देशन दिएको छ । ५५ लाख लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २.४ किलोमिटर छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।