नेपाल समाचारपत्र, चितवन
चितवनमा बलात्कारका घटनाहरु बढ्दै गएको पाईएको छ । पछिल्लो ६ महिनामा मात्रै जिल्लामा १६ वटा बलात्कारका घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी पछिल्लो ६ महिनामा विवरण सार्वजनिक गर्दै सबैभन्दा बढि बलात्कार घटनाहरु भएको जनाएको छ ।
इन्सेक चितवनको २०७४ पुस १७ देखी २०७५ जेठ १७ को तथ्यांक अनुसार १६ वटा बलात्कारका घटना र ५ वटा बलात्कारको प्रयास भएको उल्लेख छ । बलात्कारको शिकार हुनेमा सबैभन्दा धेरै बढि बालिका रहेका छन् । १६ जना बलात्कृत मध्येमा १३ जना बालिका मात्रै रहेको इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीले जानकारी दिए । ३ जना महिला भने २० वर्ष भन्दा माथि उमेर समूहका रहेका छन् । यस्तै एक बालक र एक बालिकामाथि पनि यौन दुव्र्यवहारको घटना भएको इन्सेकले जनाएको छ ।
नेपाली समाजमा बलात्कार घटनाहरु धेरैजसो स्थानीय स्तरमै मिल्ने गरेका छन् । तर पछिल्लो समय कानुनी उपचार खोज्ने क्रम पनि बढेको छ । यस ६ महिनाको अवधिमा बलात्कारको घटनामा संलग्न दुई जनाले कैद सजाय भोगी रहेका छन् । १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा कालिका नगरपालिका–३ का ५१ वर्षीय कृष्णलाल शर्मा ५ वर्षको कैद साजय सुनाईएको थियो । शर्मा्विरुद्ध गत चैत २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएपछि कानुनी प्रक्रिया अघि बढेको थियो ।
यसैगरी गत फागुनमा ९ र ७ वर्षीया बालिकालाई बलात्कार गेको कसुरमा भरतपुर महानगरपालिका–१४, राधापुरका ७१ वर्षीय कुलप्रसाद पाडेललाई चितवन जिल्ला अदालतले १० वर्षको कैद फैसला सुनाएको थियो ।
चितवनमा पछिल्लो समय हत्या हिंसाका घटनाहरु भने धेरै कम भएका छन् । पुस महिना यता जिल्लामा ३ जना पुरुषको हत्या भएको छ । एक समय दिनहुँजसो हुने यस्ता घटनाक्रमहरु पछिल्लो समय कम हुँदै गईरहेको छ ।
बलात्कार र यौन दुव्र्यवहारका अचम्मका घटनाहरु
चितवनमा बलात्कार र यौन दुव्र्यवहारका यस्ता घटनाहरु सार्वजनिक भएका छन् यो सुनेर पत्याउनै गाह्रो हुन्छ । यस्तै एउटा प्रतिनिधि मुलक घटना भरतपुर महानगरपालिका वडा नं.३ बाह्रघरेमा रहेको श्री गणेश अपाङग धार्मिक सेवा केन्द्रमा भयो । त्यहाँ आश्रित दुई अपांग महिलामाथि जवरजस्तीकरणी हुने गरेको घटना सार्वजनिक भएपछि अपाङग धार्मिक सेवा केन्द्रको पर्दाफास भयो ।
सो केन्द्रका संचालक बाग्लुङ नगरपालिका १३ घर भई हाल भरतपुर ३ बस्ने वर्ष ३९ का गणेश शर्मा परेका छन् । घटना वैशाख १ गते नै भएपनि डरत्रासका कारण उनीहरुले वैशाख ७ गते ढिला गरी प्रहरीमा जाहेरी दिएका थिए । केन्द्रमा आश्रित ३५ र १९ वर्षीया दुई जना पीडितले घटनाबारे ढिला मात्र छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको थियो ।
यस्तै अर्को बलात्कारको अचम्मको घटना सार्वजनिक भयो । जहाँ श्रीमतीले श्रीमानविरुद्ध नै उजरी दिए । २७ वर्षीया श्रीमती गीता (नाम परिवर्तन) ले भरतपुर ८ गौरीगञ्ज बस्ने वर्ष ३६ का श्रीमान हरि (नाम परिवर्तन)विरुद जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् । श्रीमानविरुद्ध जवरजस्तीकरणी अन्तरर्गत मुद्धा चलाईएको थियो । यस प्रकारका बलात्कार घटनाहरु सायदै सुन्ने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले सबै भन्दा बढि बलात्कारको शिकार बालिकाहरु पर्ने गरेको बताए । उनले भने–“जिल्लामा आउने अधिकांश बलात्कार घटना बालिका सम्बन्धित हुन्छन्, केही मुद्धा मात्र उमेर पुगेका महिलाहरुको आउने गरेको छ ।”
डिएसपी आचार्यले उमेर पुगेका महिलाहरुको सहमतीमै यौन क्रियाकला हुने तर पछि विविध कारणले बलात्कार भएको भन्दै उजुरीहरु आउने गरेको जानकारी दिए । उनले यस्ता प्रकारका घटनाहरुमा प्रहरीले सघाउने गरेको भन्दै जबरजस्ती मिला पत्र गर्ने काम नहने बताए ।
महिला बेचबिखन र बहुविवाहको घटनामा अछुतो छैन चितवन
देशको मध्य भागमा रहेको चितवनमा सबै प्रकारका मानिसहरु यहाँ बसोबास गर्दछन् । पूर्व देखी पश्चिम नेपाललाई राजधानीसंग सिधै जोड्ने चितवनमा धेरै कानुन विपरीतका घटनाहरु हुने गरेका छन् । पछिल्लो ६ महिनामा महिला बेचबिखन, बालिका बेचबिखन र बहुविवाहका घटना समेत चितवनमा भएका छन् ।
इन्सेकको तथ्यांक अनुसार एउटा बालिका बेचबिखन र ३ वटा महिला बेचबिखनको घटनाहरु भएका छन् । यस्तै ५ वटा बहुविवाहका घटना सार्वजनिक भएको इन्सेकले जनाएको छ । यस्तै चितवनमा १३१ वटा घरेलु हिंसाका घटनाहरु समेत भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।